एजेन्सी । अष्ट्रेलियाका ब्याट्सम्यान क्रिस ल्यानले घरेलु भूमिमा तय भएको आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट स्थगित गर्नु पर्ने बताएका छन् ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कारण विश्वकप आयोजना गर्न नहुने ल्यानले बताए ।
'मेरो व्यक्तिगत विचारमा टी ट्वान्टी विश्वकप हुनु हुँदैन,' ३० वर्षे ल्यानले फक्स सपोर्ट्ससँग भनेका छन्, 'कुनै शंका बिना हामी यो प्रतियोगिता आयोजना होस् भनेर प्राथाना गरिरहेका छौं तर हाम्रो अगाडी आईपर्ने सबै चुनौतीको सामना गर्नु पर्नेछ ।'
अष्ट्रेलियामा तय भएको टी-ट्वान्टी विश्वकप अक्टोबर र नोभेम्बरमा हुने तालिका रहेको छ । तर, कोरोनाको कारण प्रतियोगिता अनिश्चित बनेको छ ।
'विश्वभरका राष्ट्र बोलाएर यो अवस्थामा खेलाउनु एक खराब सपना जस्तो हुन्छ । होटल, यात्रा, प्रतियोगिताको सुरुवात देखी हप्तौंसम्म टिमलाई होटलमा राख्नु धेरै मुश्किल हुन सक्छ,' उनले थपे ।
यस्तै अष्ट्रेलियाका खेलाडीको तलब कटौती गर्ने विषयमा उनले समर्थन गरेका छन् ।
'कसैको लागि पनि तलब कटौती मन पर्दैन तर मलाई लाग्छ खेलको राम्रोको लागि वास्तविकता सामना गर्नुपर्नेछ,' उनले भने ।