काठमाडौं । सातौं गोल्डेनपीक अन्तर बिद्यालय बास्केटबल प्रतियोगिता सोमबारबाट सुरु हुने भएको छ । आयोजक स्कुल गोल्डेनपीकले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता भदौ ४ देखि ९ गतेसम्म संचालन हुने जानकारी गराएको हो ।
नेपाल बास्केटबल संघको प्राविधिक सहयोगमा संचालन हुने प्रतियोगिता सिनियर छात्र र जुनियर छात्र गरि दुई स्पर्धामा संचालन हुने आयोजक गोल्डेनपीक स्कुलका प्रिन्सिपल छत्रमणि राईले जानकारी गराए ।
प्रतियोगितामा जुनियर छात्रमा ४ फिट १० इन्च मुनी उचाई भएका खेलाडीले मात्र सहभागिता जनाउन पाउने प्रतियोगिता संयोजक पुर्ण न्यौपानेले जानकारी गराए । लिगकम नकाउटका आधारमा संचालन हुने प्रतियोगितामा दुवै समूहका सहभागि १२ टिमलाई चार समूहमा बिभाजन गरिएको संयोजक न्यौपानेले जनाए ।
सिनियर छात्रको समूह एमा ग्रिनल्यान्ड, भ्याली पब्लिक र न्यु बुद्ध छन् । यसैगरी समूह बीमा न्यु समिट, सौर्य र काठमाडौं विद्या कुञ्ज, समूह सीमा आयोजक गोल्डेन पिक, बेबी लोन र टीआईए तथा समूह डीमा बिम्स, एपेक्स र ह्वाइट किड रहेका छन् ।
चार फिट १० इन्च उचाइका खेलाडी सहभागी हुने जुनियर छात्रको समूह एमा माउन्ट कैलाश, लाली गुराँस र एनईए, समूह बीमा भ्याली पब्लिक, गोल्डेन पिक र बीएनए, समूह सीमा एञ्जल हार्ट, ईबीए र हिमशिला तथा समूह डीमा ग्रिनल्यान्ड, सेब र ओडीसी रहेका छन् ।