काठमाडौं । गोल्डेन पिक दोश्रो केभीकेएसएस अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ प्रवेश गरेको छ ।
आइतबार टीआईएलाई ५७–४३ ले पराजित गर्दै गोल्डेन पिकले प्रिक्वाटरफाइनलमा स्थान बनाएको हो । गोल्डेन पिकको जितमा लाक्पा शेर्पाले १४ अंक योगदान गरे ।
ब्वाइजमै स्काइलार्क र जोसेफ पनि प्रिक्वाटरफाइनलमा पुगेका छन् । स्काइलार्कले स्वेता सदनलाई प्रिक्वाटरफाइनलमा ४२–२७ तथा सेन्ट जोसेफले न्यु बुद्ध प्रकाशलाई ३२–२८ ले हराए । स्काइलार्कका सुजन गुरुङले १४ तथा सेन्ट जोसेफका रोशन लामाले १८ अंक जोडे । न्यु समिटले सेवा सदनलाई २६–१९ ले पन्छायो । विजेताका स्वस्तिक श्रेष्ठले ९ स्कोर गरे ।
गल्र्समा निम्स र इनोभेटिभले क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । दोहोरो जित हात पारेको निम्सले स्काइलार्कलाई २८–१५ र साइपाल एकेडेमीलाई ३४–१८ ले पाखा लगाए । विजयी टिमका लागि स्काइलार्क विरुद्ध सरस्वती बुढाथोकीले ८ र साइपाल विरुद्ध प्रियाले ९ अंक बटुले । न्यु बुद्ध प्रकाश विरुद्धको खेलमा इनोभेटिभ २३–१८ ले विजयी भयो । विजेताकी सामन्त थापाले १० अंक जोडिन् ।
गल्र्सको अन्य खेलमा डिफेन्डिङ च्याम्पियन हिमालय ह्यापी चाइल्ड एकेडेमी (एचएचसीए) ले स्किब्सलाई ३६–३२, न्यु बुद्ध प्रकाशले दीपज्योतिलाई १०–६ तथा आयोजक काठमाडौं विद्या कुञ्ज सेकेन्डरी स्कुल (केभीकेएसएस) ले न्यु समिटलाई ६–४ ले निराश पारे । एचएचसीएकी अनिता सुनुवारले १६, न्यु बुद्ध प्रकाशकी पासाङ तामाङले ६ तथा केभीकेएसएसकी सुलज्ञा खड्काले ४ अंक जोडे ।