काठमाडौं । १३ औं सागमा पुरुष भलिबलको प्रर्दशन खासै गतिलो रहेन । घरेलु मैदानमा नेपालको चुनौती समूह चरणमै सकिन पुग्यो ।
फाईनल पुग्ने लक्ष्य बनाएको नेपाल समूह चरणका दुवै खेलमा पराजित हुँदै बाहिरिएको थियो ।
समग्रमा टिमको प्रर्दशन खराब भएपनि ब्यक्तिगत रुपमा केही खेलाडीले राम्रो छाप छाडे ।
त्यो सूचीमा धनबहादुर भट्ट एक थिए ।
राष्ट्रिय टिमका मुख्य स्पाईकर भट्टले साग अवधिभर नेपाललाई सर्वाधिक २८ अंक दिलाए ।
नेपालको पहिलो खेलमै बंगलादेशसंग हार्न पुग्यो । तर धनको प्रर्दशन भने उच्च थियो ।
नेपालले पाँच सेटमा खेल गुमाएको थियो ।
निकै प्रतिस्पर्धात्मक खेलमा नेपाल २५–२१, २३–२५, २५–१९, २४–२६ र १२–१५ को सेटमा हारेको थियो ।
खेलमा भट्टले सर्वाधिक २१ अंकको योगदान दिए । उनले स्पाईकबाट ५ र सर्भिसबाट १ अंक जोड्दै पहिलो सेट जिताउन महत्वपुर्ण अंक दिलाए । दोस्रो सेटमा उनले स्पाइकबाट एक अंक दिलाए । सो सेट नेपालले गुमाउन पुग्यो ।
तेस्रो सेटमा उनले स्पाईकबाट ५ र ब्लकबाट एक अंक जोड्दै नेपाललाई खेलमा फर्काएका थिए । उनले चौंथो सेटमा स्पाईकबाट ५ र प्लेसिङबाट एक अंक जोडे । तर नेपालले खेल गुमाउन पुग्यो ।
पाँचौ तथा निर्णायक सेटमा स्पाइकबाट २ अंक जोडेका धनले नेपाललाई जित दिलाउन सकेनन् । अन्तिम सेट १२–१५ ले जित्दै बंगलादेशले नेपाललाई पराजित गरेको थियो ।
समूह चरणको दोस्रो खेलमा भारतसँग ३–० को सोझो सेटमा पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिन पुग्यो ।
सो खेलमा भारतले नेपाललाई २५–१५, २५–१३ र २५–१६ को सेटमा हराएको थियो । भारतविरुद्व पहिलो सेटमा उनले स्पाइकबाट २ र ओभर ल्यापिङबाट एक तथा दोस्रो सेटमा स्पाईकबाट एक र तेस्रो सेटमा स्पाईकबाट ३ अंक जोड्दै ७ अंकको योगदान दिएका थिए ।
गाउँदेखि राष्ट्रिय टिमसम्मको यात्रा
उनी गोरखामा जन्मिए । परिवारमा आमा, बुवा सहित तीन दाजु, चार दिदी बहिनी थिए ।
गाउँले जीवन । वरपर भलिबल लोकप्रिय थियो । सानैमा उनको ध्यान समेत भलिबलले खिच्यो । उनी भलिबल खेल्न मन पराउन थाले ।
जहाँ भलिबल, त्यहाँ धन । धेरै समय यसरीनै चल्यो । भलिबल खेलेको सुन्नै नहुने, धन पुगिहाल्ने स्थिती जस्तो थियो ।
सुरु–सुरुमा परिवारले भलिबलमा धेरै नभुल्न भन्थे । उनले नसुनेझै गरिदिन्थें ।
आमाबुवाको मन । छोराले राम्रो पढोस भन्ने थियो । धन सानैबाट पढाईमा अब्बल थिए । सधै पहिलो हुन्थे । पढाईमै केन्द्रित हुन परिवारको दबाब थियो । प्राथामिक तहमा उनी सधै प्रथम भए । परिवारको साथ पाएका थिए ।
धनको कद अग्लो थियो । भलिबलप्रति तीव्र मोह थियो । विद्यालयका शिक्षकहरु खेल्न सुझाव दिन्थे । खेल्न प्रेरित गर्थे ।
खेलको नशा बढ्दै थियो । कतै खेल्न गए हप्ता दिनसम्म बेपत्ता हुन्थे ।
गाँउमा भलिबल खेल्ने कोर्ट गतिलो थिएन । उनैले साथीहरु मिलेर कोर्ट बनाए । बल र नेट किन्ने पैसा उठाए । कहिले काहीं विद्यालयको बल घर लगेर खेल्ने । मागेर नपाए चोरेरै पनि बल घर पुर्याउथे ।
गाउँतिर प्रतियोगिता भैरहन्थ्यो । सबै उनको टिम पहिलो हुन्थ्यो । पुरस्कारमा भाले, बोका र राँगो राखिएका हुन्थे ।
उत्कृष्ट खेलाडी धनै हुन्थे । जसले उनलाई भलिबलमा लाग्न सधै प्रेरित गरिरह्यो ।
‘भलिबल खेल्नका लागि मात्र विद्यालय पुग्ने गरेको लाग्थ्यो ।’ धन सम्झिन्छन् ।
विद्यालयमा ब्रेक हुने बित्तिकै उनी भलिबलमा जुटिहाल्थे । अनि रात परेपछि घर पुग्थे ।
कक्षा १० मा पढ्दा गोरखामा राष्ट्रपति कप आयोजना भएको थियो । उनले हिमालय विद्यालयबाट सहभागीता जनाउने भए ।
प्रतियोगितामा उनको टिम पहिलो भयो । धन उत्कृष्ट खेलाडी चुनिए ।
भलिबलमा धेरै समय बिताउने भएपछि धनको पढाई असर पुग्न थाल्यो । उनले जेनतेन एसएलसी पास गरे ।
राष्ट्रपति कपमा उत्कृष्ट प्रदर्शन गरेका धनमा धेरैको नजर पर्यो ।
एपीएफका पूर्व डीआईजी यम नारायण श्रेष्ठ, पूर्व एआईजी रिषभदेव भट्टराई तथा विद्यालयका प्रिन्सिपल मुरलीधर दुवाडीको सहयोगमा धनले विभागीय टिम एपीएफसंग जोडिने मौका पाए ।
२०६९ सालमा उनले क्लबसंग २ वर्षको सम्झौता गरे । अनि काठमाडौं आए ।
एपीएफसँग आबद्ध भएपनि उनी प्रशिक्षक कपिलकिशोर श्रेष्ठसंग जोडिए । उनको खेल निखारिदै गयो ।
उनी खेलसँगै पढाईलाई निरन्तरता दिन चाहन्थे । काठमाडौंको मनमोहन कलेजमा भर्ना पनि भए । तर उनले खेल र पढाईको व्यवस्थापन गर्न सकेनन् ।
विस्तारै उनी एपीएफको सेटमा पनि पर्न थाले । धेरै प्रतियोगिता खेले । उत्कृष्ट प्रर्दशन दिदै गए ।
प्रत्येक खेलाडी सपना हुन्छ, एक दिन राष्ट्रिय टिमबाट खेल्ने । उनको पनि थियो ।
धेरै संघर्ष पश्चात त्यो दिन आयो । २०७२ सालमा राष्ट्रिय भलिबल टिममा पहिलो पटक छनोट भए ।
राष्ट्रिय टिमबाट खेल्ने सपना पुरा हुँदै गयो । तर खासै अवसर पाउन सकेका थिएनन् ।
पहिलो संस्करणको एभिसी सेन्ट्रल जोनबाट धनले राष्ट्रिय टिममा डेब्यु गरे ।
तर, पहिलो रोजाईमा पर्न उनले तेस्रो संस्करणको एभिसी सेन्ट्रल जोननै कुर्न पर्यो ।
त्यसपछि उनी निरन्तर राष्ट्रिय टिमको सदस्य रहँदै आएका छन् ।
एपीएफमा करारमा खेल्दै आएका धनले ७२ सालमै आर्मीको प्राविधिकमा नाम निकाल्न सफल भए । अनि एपीएफबाट बिदा लिदै उनी आर्मीका स्थायी खेलाडी बने ।
उनले हङकङ, मकाउसँगको मैत्रीपूर्ण खेलमा प्रभाव देखिने प्रर्दशन गरेपछि राष्ट्रिय टिममा पहिलो रोजाईमा स्थान बनाउन सफल भएका हुन् ।
आर्मीको तालिममा रहेका कारण धन १२ औं सागमा राष्ट्रिय टिममा परेनन् । त्यस बाहेक सबै प्रतियोगितामा उनी नियमित सदस्यको रुपमा रहदै आएका छन् ।
उनी खेल करियरको सम्पूर्ण श्रेय कृष्ण गुरुङ तथा रेफ्री विकास गुरुङलाई दिन्छन् ।
‘मलाई सबैले सहयोग गर्नु भयो तर कृष्ण गुरुङ र रेफ्री विकास गुरुङ दाईले धेरै सहयोग गर्नुभएको छ । उहाँहरुकै कारणले आज यहाँसम्म पुगेको छु ।’ उनी भन्छन् ।
परिवार मात्र हैन गाउँ घरका साथी समेत उनीप्रति नतमस्तक छन् । साथी र परिवारले गर्व लागेको बताउँदा धन पनि खुसी हुन्छन् ।
हुन त देशमा खेलमा समर्पित खेलाडीको भविष्य सुन्दर देखिदैन ।
धेरै खेलाडी विदेश पलायन भएका छन् । धन भने भलिबलमा केही परिवर्तन हुने कुरामा आशावादी रहेको बताउँछन् ।
‘पहिलाभन्दा भलिबलमा धेरै परिवर्तन भएको छ । भलिबलमा भविष्य पनि छ । भलिबलबाटै भविष्यमा केही गर्छु भन्न गाह्रो छ । तर आउँदो दिनमा भलिबलमा केही हुन्छ जस्तो लाग्छ ।’ उनी आशावादी बन्छन् ।