काठमाडौं । चौंथो संस्करणको प्रधानमन्त्री कप अन्तर विश्वविद्यालय राष्ट्रिय खेलकुद प्रतियोगिता बिहिबारबाट सुरु हुने भएको छ ।
आयोजक राष्ट्रिय खेलकुद परिषद (राखेप) ले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता बिहिबार सुरु हुने जनाएको छ ।
राष्ट्रिय विश्व विद्यालय खेलकुद संघको व्यवस्थापनमा तीन दिन चल्ने प्रतियोगितामा असोज ११ गतेसम्म चल्नेछ ।
प्रतियोगितामा फुटबल, भलिबल, बास्केटबल, टेबलटेनिस, ब्याडमिन्टन, चेस र दौडमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा ९ विश्व विद्यालयको सहभागिता रहने छ ।
जसमा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालय, पुर्वान्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, लुम्बिनी बौध विश्वविद्यालय र कृषि तथा विज्ञान विश्वविद्यालय रहेका छन् ।
प्रतियोगितामा ७६ स्वर्ण, ७६ रजत र ७६ काँस्यगरि कुल २२८ पदकका लागि ६१२ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।