काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग) मा नेपाली तेक्वान्दोको बेग्लै रवाफ छ । नेपाललाई धेरै पदक दिलाउने मध्यको एक खेल तेक्वान्दो हो ।
१३ औं संस्करणको साग नेपालमा आयोजना हुदैछ, मंसिर १५ देखि २४ गतेसम्म । सागलाई लक्षित गर्दै तेक्वान्दोको बन्द प्रशिक्षण सुरु भईसकेको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले तेक्वान्दोको बन्द प्रशिक्षण जेठ २० गतेदेखि सुरु गरेको हो ।
पहिलो चरणमा आठौं राष्ट्रिय खेलकुदका स्वर्णधारीलाई मात्र समावेश गरिएको प्रशिक्षणमा साउन १ पछि दोस्रो, तेस्रो तथा पदकका सम्भावित खेलाडीलाई पनि प्रशिक्षणमा समावेश गरिएको छ ।
प्रशिक्षणमा पुम्से र गेरुकी स्पर्धाका ८३ जना खेलाडी समावेश छन् ।
सबै खेलाडीलाई खाना, बस्न र अभ्यासको सुविधा छ । प्रशिक्षणमा सहभागी खेलाडीलाई होटेलको समेत व्यवस्था छ । विभागका खेलाडी बस्न ब्यारेक पुग्छन् भने खाना, खाजा र ट्रेनिङ समुहमै गर्ने गरेका छन् ।
बन्द प्रशिक्षणमा मुख्य कोरियन प्रशिक्षक क्वान योङ दल र नन्द कुमार राई साथै टार्जन सुब्बा, दिपक विष्ट, संगिना वैद्य, नबिन श्रेष्ठ, हिरा थापा, कविराज खड्गी, नर्बु लामाले खेलाडीलाई प्रशिक्षण दिईरहेका छन् ।

करिब दुई महिना अगाडी स्थापना भएको तेक्वान्दो एकेडेमीमा प्रशिक्षण गर्न पाउदा खेलमा राम्रो सुधार आएको कीर्तिमानी तेक्वान्दो खेलाडी तथा प्रशिक्षक दिपक विष्ट बताउँछन् ।
‘तेक्वान्दो वर्तमान अवस्थामा आएर धेरै परिवर्तन भएको छ । अहिले आफ्नै एकेडेमी भएकाले कसैमा निर्भर हुनु पर्ने अवस्था छैन । यसले प्रभाव खेलाडीको प्रर्दशनमा समेत देखिन्छ ।’ उनले भने ।
तेक्वान्दोले बेलुका ४ बजेदेखि ६ बजेसम्म सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीमा प्रशिक्षण गर्ने तालिका बनाएको छ ।
सबैभन्दा बढी पदक जितेको ईतिहासलाई दोहोर्याउने लक्ष्यका साथ प्रशिक्षण अघि बढेको विष्ट बताउँछन् ।
सागको ईतिहासमा सर्वाधिक सफल खेल तेक्वान्दो नतिजामा पछिल्लो समय खस्किएको छ । पछिल्लो संस्करणको सागमा तेक्वान्दोले १२ रजत र ३ काँस्यमा चित्त बुझाएको थियो ।
‘१२ औं सागमा एउटा पनि स्वर्ण जित्न सकेनौ । त्यसको तितो यथार्थ हामीसंग छ । त्यो दुखलाई सुखमा परिणत गर्ने संकल्प छ । सोही अनुसार ट्रेनिङ लागिपरेका छौ ।’ उनले भने ।
विष्टका अनुसार घरेलु मैदानमा प्रतियोगिता आयोजना हुदँ खेलाडीलाई केही फाईदा पुग्नेछ । तर नेपालको लक्ष्य भनेको सागको ऐतिहासिक सफलतालाई दोहर्याउनुनै हुनेछ ।
नयाँ खेलाडीको बाहुल्यता भएपनि तेक्वान्दोमा नेपालले उत्कृष्ट प्रर्दशन गर्दै पुरानो रेकर्डमा सुधार गर्ने विष्ट दाबी गर्छन् ।
‘टोलीमा धेरै नयाँ खेलाडी छन् । धेरै अनुभवी खेलाडी व्यक्तिगत कामले बाहिर गएका छन् । कोही अवकाश लिईसकेका छन् । नयाँ खेलाडी पनि कोही विभाग, कोहीले राष्ट्रिय च्याम्पियनसिपमा भाग लिईसकेका छन् । उनीहरुमा धेरै जोस र जाँगर छ । नयाँ खेलाडीले सागलाई लक्षित गरी धेरै राम्रो प्रर्दशन गरिरहेका छन् । उनीहरुले हाम्रो पुरानो रेकर्डलाई सुधार गर्नेछन् ।’ विष्टले भने । ’
बन्द प्रशिक्षणमा १०–१२ जना अनुभवी खेलाडी छन् । बाँकी सबै नयाँ अनुहार ।
बन्द प्रशिक्षणको फाइनल छनोट पश्चात खेलाडीलाई बाहिर एक्सपोजरका लागि लैजाने योजना रहेको विष्टले सुनाए ।
नयाँ खेलाडी आउनु र खेलमा खेलाडीको लगाब बढाउने बिषयमा खेलकुदको नीति, नियम र सरकारको दृष्टिकोणमा भरपर्ने विष्ट बताउँछन् ।
‘यदी खेलाडीको भविष्य सुनिश्चित छ । उनीहरुको जीवनको सुरक्षा छ । सरकारको खेलकुदप्रति राम्रो दृष्टिकोण भएमा खेलाडी खेलकुदमा रहन्छन् । सबै बिषय खेलकुदको नीति नियम र सरकारको दृष्टिकोणमा भरपर्ने कुरा हो ।’ उनी थप्छन् ।
तेक्वान्दो आधिकारिक रुपमा सबै भन्दा धेरै पदक जित्ने खेल हो । आठौं सागमा नेपालले ८ स्वर्ण, नवौमा ६ स्वर्ण, दशौंमा र एघारौं सागमा समान २ स्वर्ण जितेको थियो । तर १२ औ सागमा तेक्वान्दो स्वर्ण विहिन रह्यो ।
तेक्वान्दो अनुशासित खेल भएका कारण धेरै पदक जित्न सफल रहेको विष्टको दाबी छ ।
‘यो अनुशासित खेल हो । सोही कारण अहिलेसम्म धेरै पदक जितिरहेका छौ ।’ विष्ट भन्छन् ।
तेक्वान्दोले भदौ ५–६ गते पहिलो पटक ८३ जना खेलाडीको छनोट गर्नेछ । गेरुकीमा ८–८ जना महिला पुरुष खेलाडी र पुम्सेमा १२ वटा स्पर्धाका लागि खेलाडी छनोट गर्ने प्रशिक्षक विष्ट बताउँछन् ।