काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव रमेश सिलवालले दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का लागि आवश्यक खरिद प्रक्रिया 'फास्ट ट्रयाक'बाट अघि बढाईने बताएका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको स्वागत तथा अन्तरक्रिया कार्यक्रममा सदस्य सचिव सिलवालले फास्ट ट्रयाकको व्यवस्था सहितको कार्यविधि आउने स्पष्ट पारेका हुन् ।
पुर्वाधारको कारणले प्रतियोगिता नरोकिने बताउदै उनले सार्वजनिक खरिद ऐनका समस्यालाई सागको कार्यविधिले सम्बोधन गर्ने उल्लेख गरे ।
१३ औ संस्करणको साग नेपालमा मंसिर १५ देखि २५ गतेसम्म सञ्चालन हुने तय छ । साग हुन करिब ४ महिनामात्र बाँकी रहेको अवस्थामा सरकारले फास्ट ट्रयाकबाट प्रतियोगिताका लागि आवश्यक सामाग्री खरिद गर्ने तयारी गरेको हो ।
प्रतियोगिताका लागि अति आवश्यक मानिएको कार्यविधि मन्त्रीपरिषद्को बिधेयक समितिमा अड्किएर बसेको छ । कार्यविधि नहुदाँ आवास, यातायात लगायत सागको व्यवस्थापनको प्रक्रिया अघि बढ्न सकेको छैन ।
सोही कारण सार्वजनिक खरिद ऐन अन्तर्गत रहेर सागका आर्थिक क्रियाकलाप अघि बढाउन असम्भव देखिन्छ । राखेपले समय अभावको कारण देखाउँदै बिशेष निर्णय मार्फत सागको खरिद निर्माण प्रक्रिया अघि बढाउने तयारी गरेको हो ।
‘सार्वजनिक खरिद ऐनले ३५ दिनको समयसिमा राखेर टेण्डर प्रक्रिया अघि बढाउनु भन्छ । कति कुरा समय र परिस्थिती अनुकुल मिल्दैन ।’ सदस्य सचिव सिलवालले भने, ‘खरिद ऐनको समेत सम्मान गर्दै अनि फास्ट ट्रयाकको व्यवस्था सहित कार्यविधि आउँछ ।’
राखेपले साग आयोजनाका लागि झण्डै सवाँ ५ अर्व रुपैयाँ लागत लाग्ने अनुमान गरेको छ । सोही अनुसारको बजेटको रुपरेखा तयार पारेर युवा तथा खेलकुद मन्त्रालयमा पठाएको छ ।
सदस्य सचिव सिलवालले सागको लागि आवश्यक पर्ने बजेटका बिषयमा प्रधानमन्त्री, अर्थमन्त्री र खेलकुद मन्त्रीसंग छलफल गरेको बताउँदै प्रतियोगिताका लागि आवश्यक बजेटको अभाव नहुने प्रतिबद्वता जनाए ।
सदस्य सचिव सिलवालले सागका लागि निर्माण गरिएका केही पुर्वाधारलाई दिर्घकालिन रुपमा अघि बढाउने योजना रहेको भन्दै सोही कारण बजेट बढ्न सक्ने बताएका छन् ।
सरकारले प्रतियोगिताका लागि आवश्यक खेल सामाग्री उपलब्ध गराउन चीन सरकारलाई आग्रह गरेको छ । चीन सरकारले खेल सामाग्री निशुल्क वा सशुल्क उपलब्ध गराउने बिषय तय भएको छैन । सोही आधारमा प्रतियोगिता आयोजनाको आवश्यक बजेट निर्धारण हुने सदस्य सचिव सिलवाल बताउँछन् ।
उनले कात्तिक १५ अघिनै दशरथ रंगशाला र पोखरा रंगशाला निर्माण हुने बताउँदै निर्धारित समयमा निर्माण सम्पन्न नभएमा बैकल्पिक मैदानको समेत व्यवस्था गरिएको बताए ।
‘दुवै रंगशाला कात्तिक १५ अघिनै तयार हुन्छन् । यदी त्यो सम्भव नभएका काठमाडौं र पोखरामा वैकल्पिक ३–३ वटा मैदान हेरेका छौ ।' उनले भने ।
आयोजनाको हिसावमा साग भब्य हुने दाबी गर्दै उनले उपलब्धिको हिसावमा समेत धेरै पदक ल्याउन कोशिश गरिने बताए ।
‘आठौंको समयमा एक बर्ष बिशेष प्रशिक्षण गरिएको थियो । ६ महिना बन्द प्रशिक्षणमा राखिएको थियो ।’ उनले भने, तर मसंग चार महिनामात्र बाँकी छ । तर धेरै पदक ल्याउने मार्सल आर्टमा बिशेष तयारी गर्नेछौ । सोही कारण नतिजा आउनेमा ढुक्क छु ।’