काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले दक्षिण एसियाली खेलकुद (साग) मा रजत र कास्य पदक विजेता खेलाडीलाई आजीवन भत्ता दिन माग गरेको छ ।
राष्ट्रिय खेलकुद परिसद (राखेप) का नव नियुक्त सदस्य सचिव रमेश सिलवाललाई बिहिबार ध्यानाकर्षण पत्र बुझाउदै संघले सागका रजत र कास्य पदकधारीलाई भत्ता उपलब्ध गराउन माग गरेको हो । अध्यक्ष दीपक श्रेष्ठको अगुवाईमा संघले सदस्यसचिव सिलवाललाई १३ बुदे ध्यानाकर्षण पत्र समेत बुझाएको छ ।
संघले बुझाएको ध्यानाकर्षण पत्रमा सागका स्वर्णधारी, एसियन गेम्सका पदकधारी र ओलम्पियनलाई प्रोत्साहन स्वरूप दिदै आएको आजीवन भत्तालाई निरन्तरता दिदै सागका रजत र कास्य पदकधारीलाई पनि भत्ता उपलब्ध गराउन माग गरिएको छ ।
सरकारले सागमा ३ भन्दा बढी स्वर्ण जिते खेलाडीलाई मात्र नगदसहित सम्मान गरिदै आएको र ३ भन्दा कम स्वर्ण जित्ने खेलाडीलाई पनि नगद पुरस्कारबाट सम्मानित गराउन समेत माग गरिएको छ ।
यस्तै संघले राष्ट्रिय खेलकुदका स्वर्ण विजेता खेलाडीले धेरै पछि मात्र नगद पुरस्कार पाउने गरेको बताउदै मेडलसँगै नगद पुरस्कार उपलब्ध गराउन समेत माग गरेको छ ।
नेपालमा आयोजना हुने १३ औं साग ४ महिना बाँकी रहदा पनि खेलाडीले उच्च स्तरको प्रशिक्षण नपाएको र खेलाडीको क्षमता अभिवृद्धि गर्ने काम कछुवा गतिमा भईरहेकोमा विषयमा गम्भीरता पुर्वक ध्यान दिनु पर्ने समेत संघले माग गरेको छ ।
खेलाडी संघले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै सदस्यसचिव सिलवालले मागबारे आफु पहिले नै जानकार रहेको र विस्तृत योजना बनाएर माग सम्बोधन गर्ने बताए ।