काठमाडौं । नेपालमा आयोजना हुने १२ औं संस्करणको दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ ।
आयोजक नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघले बुधबार पत्रकार सम्मेलन गर्दै भोलि (बिहिबार) बाट सुरु हुने प्रतियोगिताको तयारी पुरा भएको जनाएको छ । यस्तै संघले पत्रकार सम्मेलनमा विजेताले प्राप्त गर्ने ट्रफी समेत सार्वजनिक गरेको छ ।
प्रज्ञा भवन कमलादीमा चार दिन संचालन हुने प्रतियोगितामा नेपालसहित सार्क राष्ट्रहरु भारत, पाकिस्तान, भुटान, अफगानिस्तान,श्रीलंका, माल्दिभ्स र बंगलादेशले प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगिताको शारीरिक सुगठन तर्फ ५५,६०,६५,७०,७५,८०,८५,९० र ९० केजी माथिको तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।
यस्तै जुनियर पुरुष शारीरिक सुगठन, पुरुष फिटनेस फिजिक्स, पुरुष एथलेटिक्स फिजिक्स, पुरुष स्पोर्ट्स फिजिक्स,महिला एथलेटिक्स फिजिक्स र महिला मोडल फिजिक्समा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा करिब १३० जना खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताका लागि थाइल्याण्डबाट ४ जना रेफ्रीहरु आउने समेत संघले जनाएको छ ।
प्रतियोगितामा नेपालबाट २३ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिताको १८ विधामा महिला र पुरुषगरि २३ खेलाडीले प्रतिस्पर्धा गर्ने संघले जनाएको छ ।
प्रतियोगिताका लागि विश्व तथा एसियाली शारीरिक सुगठन महासंघका अध्यक्ष डातुक पाउल चुआ लगायतका पदाधिकारीहरु नेपाल आउने छन् ।