काठमाडौं । ११ औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता अन्तर्गत करातेमा सोमबार प्रदेश ५ टिम च्याम्पियन बनेको छ । प्रदेश ५ ले ४ स्वर्ण, ४ रजत र २ कांस्य जित्यो ।
राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा भइरहेको प्रतियोगितामा ३ स्वर्ण, १ रजत र ४ कांस्यसाथ दोश्रो तथा १ स्वर्ण, ३ रजत र ८ कांस्यसाथ प्रदेश ४ तेश्रो भयो ।
छात्र एकल कातामा प्रदेश ५ का आजादसिंह राना मगर, ४२ केजीमा प्रदेश १ का मोहम्मद अमन, ४७ केजीमा प्रदेश ४ का विमल थापा र ५२ केजीमा प्रदेश ५ का यमबहादुर समल पहिलो भए । छात्रा एकल कातामा प्रदेश ५ की अनिता पुन मगर, ४० केजीमा प्रदेश १ की ओसिस श्रेष्ठ, ४५ केजीमा प्रदेश ५ की अनिता पुन मगर र ५० केजीमा प्रदेश १ की प्रीति बस्नेतले स्वर्ण जिते ।
भलिबलतर्फ छात्रमा गण्डकी र सुदूरपश्चिम फाइनलमा प्रवेश गरेका छन् । प्रदेश ५ तेश्रो भयो । छात्रामा गण्डकी र प्रदेश ५ उपाधिका लागि भिड्ने छन् । सुदूरपश्चिम तेश्रो भयो ।
कबड्डीतर्फ छात्रमा प्रदेश १ पहिलो, प्रदेश ५ दोश्रो तथा सुदूरपश्चिम र गण्डकी तेश्रो भए । छात्रामा सुदूरपश्चिम पहिलो, प्रदेश ५ दोश्रो तथा गण्डकी र प्रदेश १ तेश्रो बने ।
उसुको छान छ्वानतर्फ छात्रमा सुदूरपश्चिमका सवल पार्की र छात्रामा सुदूरपश्चिमकै अलिषा खाती, नान् छ्वानको छात्रमा प्रदेश १ का एलिस मारिक र छात्रामा सुदूरपश्चिमकी एलिषा खाती तथा थाइचीको छात्रमा सुदूरपश्चिमका विक्रम सुनारी मगर र छात्रामा सुदूरपश्चिमकी स्वस्ती दहितले स्वर्ण हात पारे ।
तेक्वान्दोको छात्र ४८ केजीमुनि सुदूरपश्चिमका भुवन सार्की तथा ५१ केजीमुनि प्रदेश १ का सिजन बुढाथोकी पहिलो भए । छात्र ४४ केजीमुनि प्रदेश ५ की दिपा पुन तथा ४६ केजीमुनि प्रदेश १ की यमुना राई पहिलो भए ।