काठमाडौं । दोस्रो संस्करणको किंग्स कप पुरुष भलिबल प्रतियोगिताको पहिलो खेल नेपाल पुलिस क्लब र नेपाल गणतान्त्रिक महासंघबीच हुने भएको छ ।
भोली मंगलबारबाट सुरु हुने प्रतियोगिताको पहिलो दिन ४ खेल हुनेछ । किंग्स क्लबले सोमबार जारी गरेको खेलतालिका अनुसार साउन २६ मा सेमिफाइनल तथा २७ गते फाइनल खेल आयोजना हुने छ ।
क्लबका अनुसार प्रतियोगितामा ८ वटा टोलीको सहभागीता रहने छ । सहभागी टोलीलाई समूह ए र बी मा विभाजन गरिएको छ ।
समूह ए मा आयोजक किंग्स क्लब सहित खोटाङ नेशनल युवा संघ, गण्डकी प्रदेश र जीएम समाज रहेका छन् ।
यस्तै समूह बी मा विभागीय टोलीहरु नेपाल पुलिस र नेपाल एपीएफ क्लब तथा कोशी प्रदेश र नेपाल गणतान्त्रिक महासंघ रहेका छन् ।

प्रत्येक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान सुरक्षित गर्ने छन् ।
नेपाल भलिबल संघको स्विकृतीमा हुने यस प्रतियोगितामा संघले प्राविधिक सहयोग प्रदान गर्नेछ ।
प्रतियोगिताको अनुमानित बजेट १७ लाख रहेको छ । आयोजक क्लबका महासचिव लक्ष्मण काप्रीका अनुसार पुरस्कार तर्फ मात्र ४ लाख रकम खर्च हुनेछ ।
प्रतियोगितामा प्रथम हुने टोलीले २ लाख २ हजार नगद प्राप्त गर्दा दोस्रो हुनेले १ लाख १ हजार नगद प्राप्त गर्ने छ । तेस्रो हुनेले नगद रु ५० हजार ५ सय र सान्त्वनाले रु २२ हजार २ सय प्राप्त गर्ने छ ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ८ हजार नगद पुरस्कार पाउँने छ । हरेक विधाका उत्कृष्ट खेलाडीले जनही ३ हजार नगद पुरस्कार पाउँने छ ।
प्रतियोगिताका सबै खेल नयाँ बसपार्कमा रहेको ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रमा हुनेछ ।