काठमाडौं । किर्गिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगमा नेपालले लगातार दोस्रो खेलमा हार व्यहोरेको छ ।
बिस्केकस्थित स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा सोमबार भएको खेलमा आयोजक किर्गिस्तानसँग ३-१ ले पराजित हुँदै नेपालले लगातार दोस्रो हार व्यहोरेको हो ।
किर्गिस्तानले नेपाललाई २६-२४,२१-२५,२५-१८ र २५-१६ ले हराएको हो ।
आइतबार भएको खेलमा नेपाललाई मंगोलियाले ३-१ को सेटमा हराएको थियो ।
काभा नेसन्स लिगमा नेपालसहित ७ टोलीको सहभागिता रहेको छ ।
अब नेपालले तेस्रो खेलमा मंगलबार इरानसँग खेल्नेछ ।
त्यस्तै चौंथो खेलमा बिहीबार तुर्किमिनिस्तान र अन्तिम तथा पाँचौं खेलमा किर्गिस्तानको 'बी' टोलीसँग खेल्ने छ ।
सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछ । यस्तै तेस्रो र चौंथो हुने टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने छन् ।