काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगको पहिलो खेलमा नेपालले हार व्यहोरेको छ ।
किर्गिस्तानको बिस्केकस्थित स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा आइतबार भएको खेलमा नेपाललाई मंगोलियाले ३-१ को सेटमा हराएको हो ।
मंगोलियाले पहिलो र दोस्रो सेट २५-१९ र २५-२० ले जितेको थियो । तेस्रो सेट नेपालले २७-२५ ले आफ्नो बनायो । तर, चौंथो सेटमा मंगोलिया २५-२० ले विजयी हुँदै खेल आफ्नो पक्षमा पार्न सफल भयो ।
काभा नेसन्स लिगमा नेपालसहित ७ टोलीको सहभागिता रहेको छ ।
अब नेपालले दोस्रो खेलमा सोमबार किर्गिस्तानसँग खेल्नेछ ।
त्यस्तै नेपालले तेस्रो खेलमा मंगलबार इरान, चौंथो खेलमा बिहीबार तुर्किमिनिस्तान र अन्तिम तथा पाँचौं खेलमा किर्गिस्तानको 'बी' टोलीसँग खेल्ने छ ।
सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछ । यस्तै तेस्रो र चौंथो हुने टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने छन् ।