काठमाडौं । घरेलु खेलकुदमा जति धेरै प्रतियोगिता हुन्छन्, खेल त्यत्तिकै परिष्कृत बनेर आउँछ ।
खेल खेल्नुमात्र हैन, जित्नुपनि हो ।
त्यो जित घरबाटै सुरु हुन्छ, अनि अन्तराष्ट्रिय एरिनामा पुगेर टुङ्गिन्छ ।
त, अन्तराष्ट्रिय एरिनामा कस्तो नतिजा आउँछ, त्यसैमा सम्बन्धित खेलको भविष्य निर्धारण हुन्छ ।
नेपाली भलिबल कुन दिशामा छ ?
अझ भनौ महिला भलिबल कता जादैछ ?
यसको ठ्याक्क उत्तर त छैन ।
तर, बुधबार सुरु हुने साग खेलले नेपालको महिला भलिबलको धेरै कथा बोल्नेछ । अझ भनौ धेरै जवाफ दिनेछ ।
खेलाडीले गर्ने अभ्यास र निखार्ने शिप अन्तत अन्तराष्ट्रिय प्रतियोगिताका लागि न हो ।
खेल जतिनै लोकप्रिय किन नहोस, जतिनै राम्रो किन नखेलोस, अन्तराष्ट्रिय नतिजा आउदैन भने त्यसको खास अर्थ छैन ।
खेलाडी तयार हुने यस्तै ठुला प्रतियोगिताका लागि हो । खेलाडीले खेल्ने साग जस्तै ठुला खेल महोत्सवका लागि हो ।
अन्तराष्ट्रिय नतिजाले खेललाई भविष्य दिन्छ । लोकप्रियता र उचाई बढाउँछ ।
समयले त्यो अवसर एक पटक महिला भलिबललाई दिएको छ ।
के महिला भलिबललाई त्यसलाई प्रमाणित गर्न सक्ला ?
उत्तर भविष्यको गर्वमै छोडिदिउ ।
अहिलेलाई समकालिन महिला भलिबलकी सर्वोत्कृष्ट खेलाडी सरस्वती चौधरीको कुरा सुनौ ।
‘खेलाडी भनेकै यस्तै प्रतियोगिताका लागि तयार हुने हो । हामी सागका लागि तयार छौ ।’ उनको यो आत्मविश्वास हो ।
आक्रमक खेल तर लजालु स्वभावकी सरस्वती भन्छिन्, ‘खेलाडीमा जोश छ । अभ्यास राम्रो छ । चुनौती पनि छ । हामीले भर्खरै स्वर्ण जितेर आएका छौ ।’
सरस्वतीको कुरा मान्ने हो भने महिला खेलाडी घरेलु दर्शकलाई लिएर उत्साहीत छन् । यिनै दर्शकलाई साक्षी राखेर खेलाडी ईतिहास रच्न चाहन्छन् । त्यही अनुसारको अभ्यास र मेहनत गरेको उनीहरुको दाबी छ ।
ईतिहास –
महिला भलिबलको ईतिहास धेरै लामो छैन ।
महिला भलिबलले सन् १९८७ मा औपचारिक रुपमा अन्तराष्ट्रिय प्रतियोगिता खेल्न सुरु गरेको हो । थाईल्याण्डमा भएको त्यही मैत्रीपुर्ण खेल नेपालको पहिलो औपचारिक अन्तराष्ट्रिय प्रतियोगिता रहेको पूर्व राष्ट्रिय महिला खेलाडी ईन्दीरा निरौलाको सम्झना छ ।
लगत्तै अर्को बर्ष महिला भलिबलले श्रीलंकामा समेत अन्तराष्ट्रिय प्रतियोगिता खेलेको थियो ।
सन् १९९९ मा नेपालले दोस्रो पटक आयोजना गरेको आठौं दक्षिण एसियाली खेलकुद (साग) बाट महिला भलिबलले सहभागिता जनाउन थालेको हो । काठमाडौंमा भएको सो प्रतियोगितामा नेपालले कास्य जितेको थियो ।
सन् २००६ मा श्रीलंकाको कोलम्बोमा भएको दशौं सागमा महिला भलिबल दोस्रो पटक सहभागी बन्यो । त्यो संस्करणमा समेत नेपालले कास्य जितेको थियो ।
त्यसपछि नेपालले सन् २०१४ मा भारतमा भएको १२ औ सागमा सहभागी बनेको थियो । त्यो सागमा नेपालले लगातार तेस्रो पटक कास्य जितेको थियो ।
एक हिसावले भन्ने हो भने महिला भलिबल सागमा सदाबहार कास्यको हकदार हो । त्यो भन्दा माथि महिला भलिबल चढ्न सकेको छैन् ।
गत महिनामात्र बंगलादेशमा भएको पहिलो एभिसी सेन्ट्रल जोनको उपाधि नेपालको महिला भलिबलले जित्यो । भलिबलको ईतिहासमा नेपालका लागि त्योनै पहिलो एतिहासिक उपाधि हो ।
तयारी र सम्भावना –
घरेलु खेलकुदमा बर्षभरीनै महिला भलिबल हुने गर्छ । राष्ट्रिय खेलाडी बर्षभरीनै घरेलु प्रतियोगितामा व्यस्त रहन्छन् । यस बर्षको सुरुवातमै आठौं राष्ट्रिय खेलकुद खेलेका खेलाडी लगत्तै सागको बन्द प्रशिक्षणमा बसेका थिए ।
लगत्तै महिला टिमले लामो समय थाईल्याण्डमा अन्तराष्ट्रिय प्रशिक्षण तथा मैत्रीपूर्ण खेल खेल्ने अवसर पायो । त्यही बलमा नेपालले बंगलादेशमा भएको एभिसी सेन्ट्रल जोनको पहिलो अन्तराष्ट्रिय उपाधि जित्न सफल भएको थियो ।
दक्षिण एसियामै सधै तेस्रो बन्ने महिला भलिबललाई ईतिहास सच्चाउने अवसर छ । खेलाडी आफैपनि दक्षिण एसियामा भारत र श्रीलंकाको दबदबा अन्त्य गर्दै सागमा ऐतिहासिक स्वर्ण पदक जित्न चाहन्छन् ।
एभिसी सेन्ट्रल जोनको उपाधिले उत्साहीत बनेको नेपाली टिमका लागि भारत र श्रीलंकानै मुख्य चुनौती हुन् । दुवैलाई पार लगाउन सके सागको पहिलो स्वर्ण भलिबलले नेपाललाई दिन सक्नेछ ।
मुख्य प्रशिक्षक जगदिश भट्ट समेत एतिहासिक पदकले खेलाडीको आत्मबल बढेको बताउँछन् ।
‘एतिहासिक पदक जितेपछि खेलाडीको आत्मबल बढेको छ । घरमै भएको साग जित्न पाए भलिबलको भविष्यलाई समेत धेरै राम्रो हुन्छ ।’ उनी भन्छन्, ‘खेलाडीहरु उत्साहीत छन् । खेलाडीलाई दबाब र अवसर दुवै छ ।’
नेपालको मुख्य चुनौती भारत र श्रीलंका भएको बताउँदै उनले घरेलु कोर्ट र दर्शकको साथले उपाधि जित्न सहयोग गर्ने बताए ।
कप्तान अरुणा शाही समेत प्रशिक्षकको कुरामा सहमत छिन् । ‘नयाँले खेलाडीले अवसर पाएका छन् । सबै खेलाडी उत्साहीत छन् । घरेलु कोर्ट र आफ्नै दर्शकका अगाडी राम्रो प्रर्दशन गर्ने सोच छ ।’ उनी भन्छिन् ।