काठमाडौं । पारा एसियन गेम्समा पदकको आशा गरिएकी पलेशा गोबर्द्धनले महिला के– ४४ क्याटगोरीअन्तर्गत ५७ केजीमुनि तौलसमूहमा भोलि मंगलबार प्रतिस्पर्धा गर्दैछिन् ।
केहि महिनायता पलेशा अध्ययनका लागि चीनकै सांघाइमा छिन् । पलेशा सांघाईबाटै हाङझाव गएकी हुन् ।
टोकियो पारा ओलम्पिक– २०२० मा दुई ‘बाउट’ जितेर इतिहास रचेकी पलेशाको स्पार्धमा ५ खेलाडी छन् । पलेशाले पहिलो खेलमा चीनकी लिटिङ याङलाई प्रतिद्वन्द्वी पाएकी छिन् ।
दुईबीचको खेल क्वाटरफाइनल हुनेछ । बाँकी ३ प्रतिस्पर्धी भने वाइ पाएर सोझै क्वाटरफाइनल पुगिसकेका छन् ।
क्वाटरफाइनलमा जित हात पारे पलेशाको सेमिफाइनल प्रतिद्वन्द्वी काजाकिस्तानकी कामिल्या दास्मोलोभा हुने अन्तर्राष्ट्रिय लेभल– २ पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाले हाङझावबाट जानकारी गराए ।
सेमिफाइनल चरण पार गरे पलेशाले चीनकी युजी लि र इरानकी रोजा इब्राहिमीबीचको विजेतासंग फाइनल खेल्ने छिन् ।
मंगलबारै टेबलटेनिसमा नेपालीका २ खेलाडीले चुनौती पेश गर्नेछन् । पुरुष सिंगल्स विवेक राई तथा महिला सिंगल्समा लाली तामाङले खेल्ने छन् ।
ब्याडमिन्टन :
ब्याडमिन्टनमा नेपाली खेलाडी पराजित भएका छन् । नेपालबाट सोमबार प्रकाश अधिकारी र हेमबहादुर गुरुङले सिंगल्समा प्रतिस्पर्धा गर्ने तालिका थियो ।
पुरुष सिंगल्स एसएल ४ को समूह ‘डि’ मा इन्डोनेसियाका रम्दानी हिक्मतले प्रकाशलाई २१–९ र २१–५ को सोझो सेटमा पराजित गरे ।
पुरुष सिंगल्स एसयु ५ को समूह ‘जी’ मा अर्का खेलाडी हेम रिटायर्ड भएपछि उनका प्रतिद्वन्द्वी चाइनिज ताइपेइका पु गुइ यु विजेता बने । दुईबीचको खेल सुरुनै हुन सकेन ।
टेबलटेनिस :
टेबलटेनिसमा नेपालका डिगमसिंह चेम्जोङ र विवेक राईले सोमबार मिश्रित प्रदशर्न गरेका छन् । पुरुष सिंगल्समा दुवैले दुई खेल खेलेका थिए । दुवैले एकमा जित र अर्कोमा हारको सामना गरे ।
पुरुष सिंगल्स क्लास ४ को समूह ‘एफ’ मा डिगमले किर्गिस्तानका सरीबइभ साइरीबेकलाई ११–४, ११–४ र ११–३ ले पराजित गरे । अर्को सिंगल्समा जापानका साइतो गेन्कीले डिगमलाई ११–५, ११–४ र ११–५ ले हराए ।
पुरुष सिंगल्स क्लास ७ को समूह ‘बी’ मा विवेकले टिमोर लिस्टेका वेर्नाडो कार्भेल्हो डिलाई ११–३, ११–२ र ११–६ ले पाखा लगाए । अर्को प्रतिस्पर्धामा चीनका केली लिउले विवेकलाई ११–४, ८–११, ११–५ र ११–० ले पन्छाए ।
पुरुष सिंगल्स क्लास ३ को समूह ‘सी’ मा थाइल्यान्डका लोवोङ अनुराकले नेपालका केशव थापामाथि ११–४, १२–१० र १६–१४ को कठिन जित दर्ता गरे ।