काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले आकस्मिक कार्यसमिति बैठक बहिष्कार गरेका छन् । एन्फाको आन्तरिक शक्ति संघर्षमा संस्थापन पक्षसँग रहदै आएका वरिष्ठ उपाध्यक्ष खड्काले बैठकको कार्यसमिति बैठक बहिष्कार गरेका हुन् ।
अध्यक्ष पंकजबिक्रम नेम्वाङ र महासचिव किरण राईविरुद्ध एन्फामा अविश्वास प्रस्ताव दर्ता भएपछि फुटबलभित्रको नयाँ धुव्रिकरण सुरु भएको छ ।
पछिल्लो धुव्रिकरणमा खड्का संस्थापन पक्षबाट टाढा देखिएका छन् ।
बुधबारको आकस्मिक बैठक वहिष्कार गरेका खड्काले प्रतियोगिता संयोजकलाई वेवास्ता गर्दै विश्वकप छनोटको संयोजक तोकिएकोमा असन्तुष्टि जनाएका छन् ।
‘मेरो दुईवटा कुरा छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिता सञ्चाल गर्ने प्रतियोगिता समितिको संयोजकलाई बाइपास गर्दै जिम्मेवारी दिने काम भएको छ । अर्को विधान अनुसार अविश्वासको प्रस्ताव लागेको ब्यक्ति पदमुक्त हुने वैधानिक व्यवस्थालाई नजर अन्दाज गरिएको छ ।’ खड्काले भने, ‘विधानको धारा ४१ को उपधारा ५ मा बर्खास्तीको प्रस्ताव दर्ता भएपछि पदाधिकारी पदमुक्त हुने व्यवस्था छ । तर आकस्मिक बैठकले नयाँ व्यवस्थाको सन्दर्भमा कुनै निर्णय गरेन ।’
उनले अविश्वासको प्रस्ताव लागेपछि अध्यक्षले अरुलाई जिम्मेवारी दिनुपर्ने तर्क पनि गरेका छन् ।
‘हरेक हप्ता, दश दिनमा आकस्मिक बैठक बोलाउने र चार÷पाँच एजेण्डा पास गराउने गलत अभ्यास एन्फामा सुरु भएको छ । अध्यक्षले तत्काल पद छाडेर अविश्वासको प्रस्तावको सामना गर्नुपर्छ । एन्फा कार्यसमितिको निर्णय अवैधानिक छ ।’ खड्काले थपे ।