काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले प्रदेश लिग सञ्चालन गर्न प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईसंग आग्रह गरेको छ । बुधबार प्रदेश मुख्यमन्त्री राईसंग छलफल गर्दै एन्फाले प्रदेश स्तरीय लिग अघि बढाउन आग्रह गरेको हो ।
एन्फाले आगामी बर्षबाट जिल्ला लिगसंगै प्रदेश स्तरीय लिगलाई समेत अघि बढाउने तयारी गरेको छ । प्रदेश स्तरीय लिगलाई मुख्यमन्त्रीको नामबाट सञ्चालन गर्न सकिने एन्फाको प्रस्ताव छ ।
‘प्रदेश लिग र महिला साफको सञ्चालनमा प्रदेश सरकारसंग छलफल गर्दै ज्ञापनपत्र बुझाएका छौ ।’ एन्फा प्रवक्ता किरण राईले भने, ‘प्रदेश लिगको सञ्चालन प्रदेश नम्बर एकबाट सुरुवात होस भनेर आग्रह गरेका छौ ।’
एन्फाले पहिलो पटक महिला साफ फुटबल विराटनगरमा आयोजना गर्न लागिरहेको छ । प्रतियोगिताको सफलतापुुर्वक सञ्चालनका लागि प्रदेश सरकारसंग एन्फाले सहयोगको आग्रह गरेको छ ।
छलफलमा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले फुटबलको भौतिक पुर्वाधार निर्माण र महिला फुटबलको बिकासमा प्रदेश सरकारसंग सहकार्य गरेर अघि बढ्न चाहेको बताएका थिए ।
फुटबलमा पुर्वी क्षेत्र उर्वरभुमी रहेको बताउँदै अध्यक्ष शेर्पाले प्रदेश सरकारलाई पुर्वाधार निमार्णमा लगानी गर्न आग्रह गरेका थिए ।
ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री राईले एन्फाको मागप्रति आफु गम्भिर रहेको बताउदै थप छलफल गरेर अघि बढ्ने जानकारी गराएका थिए ।
एन्फाको मागप्रति निकै सकारात्मक छु । थप छलफल गरेर निर्णयमा पुग्नेमा आशावादी रहन अनुरोध गर्दछु ।’ मुख्यमन्त्रीको भनाई उबित गर्दै एन्फा प्रवक्ता राईले भने ।