काठमाडौं । नेपाली फुटबलको सर्वोच्च संस्था एन्फा यतिबेला चुनावमा होमिएको छ । असार ६ गते फुटबल संघको केन्द्रिय निर्वाचन हुदैछ । निर्वाचन प्रक्रिया चलिरहेको छ । दुई उम्मेदवार प्यानल सहित चुनावी प्रतिस्पर्धामा छन् । वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्वाङ प्यानल सहित असार ६ गतेको भिडन्तका लागि अन्तिम तयारीमा छन् । दुवै पक्षले आफुसँग उपलब्ध बलिया उम्मेदवारलाई प्यानलमा राखेका छन् ।
गणेश थापाको हातबाट फुटबल संघ फुस्किएपछि कर्माछिरिङ शेर्पा नेतृत्वमा आए । थापा हुँदा सम्म कसैले त्यो कुर्सीमा आखाँ लगाएनन् । थापाको बहिर्गनसँगै एन्फाको सत्ता लिन हानाथाप छ । आफ्ना नीजि स्वार्थलाई शैद्धान्तिकरण गर्दै आफुलाई अब्बल देखाउन कसैले पनि कुनै कसर बाँकी राखेका छैनन् । एन्फामा अहिले बिरोध गर्नुनै सत्ता चढ्ने भर्याङ्ग जस्तो बन्न पुगेको छ । छोटे मोटे सबै जना अहिले बिरोध गरेरै नेता बन्ने होडमा छन् । जिल्लाका क्लबलाई उधारो चेकमा किनेर अध्यक्ष बनेका छोटे राजाहरुको सुशासन र पारदर्शीताको भद्धा मजाक हेरिनसक्नु छ ।
फुटबलको सत्ता अब एउटैको हातमा रहेन । जिल्ला र क्लबको अंक गणितले एन्फाको सत्तामा गठबन्धनमा ठुलो फेर बदल आएको छ । अब फुटबल राजनीतिलाई प्रभाव पार्ने धेरै खेलाडी आईसकेका छन् । केही जिल्लामा छन्, केही क्लबमा । कोही मोफसलका छन्, कोही काठमाडौंमा । तिनै प्रभाव राख्ने फुटबलका राजनीतिक खेलाडीले एन्फाको आसन्न चुनावको भिडन्तलाई थप रोमाञ्चक बनाएका छन् । हुन त फुटबल ११ जनाको खेल हो । मैदानमा ११ जनाले टिमको प्रतिनिधित्व गर्छन् । एन्फा निर्वाचनको संघारमा छ । यो चुनावमा प्रभाव पार्ने ११ जना खेलाडीलाई हामीले यस आलेखमा उतारेका छौं ।
१. कर्माछिरिङ शेर्पा :
एन्फा चुनावका सबैभन्दा ठुला खेलाडी हुन्, कर्माछिरिङ शेर्पा । उनी एन्फाका वर्तमान अध्यक्ष समेत हुन् । गणेश थापाको २० वर्षको विरासत ढाल्ने शेर्पा दोस्रो तथा अन्तिम कार्यकालका लागि चुनावी मैदानमा छन् । चार वर्ष एन्फा चलाएका शेर्पाले फुटबलमा जबर्जस्त प्रभाव बनाए । हुन त हरेक चुनाव अघि संस्थापन पक्ष बलियोनै देखिन्छ । तर कर्मा ढुक्क हुने अवस्थामा छैनन् । चार वर्षको दौरान उनले फुटबलमा प्रभाव मात्र बनाएनन्, आफ्नै भन्नेहरु पनि गुमाए । नत्र दोस्रो कार्यकालका लागि उनले यति धेरै मेहनत गर्न पर्दैनथ्यो कि । खैर, क्लब र जिल्ला फुटबल संघमा बलियो पकड बनाएका शेर्पा एन्फा चुनावका मुख्य खेलाडी हुन् ।
२. गणेश थापा :
हुन त गणेश थापा फिफाको प्रतिबन्धमा छन्, तर फुटबलमा उनको शक्ति देखिन्छ । थापाले फुटबल छाडेको झण्डै ६ वर्षजति भो, तर एन्फाको राजनीतिमा थापाको अझैपनि प्रभाव देखिन्छ । झण्डै २० वर्ष थापाले एन्फा चलाए । त्यसअघि १५ वर्ष खेलाडीको रुपमा फुटबलमा सक्रिय रहे । करिब ३५ वर्ष नेपालको फुटबल उनकै वरपर घुम्यो । तर भ्रष्टाचारको काण्डमा उनी प्रतिबन्धमा परे । तर अझैपनि एन्फामा थापाको प्रभाव उत्तिकै छ । कर्मा शेर्पाको चार वर्षे कार्यकाललाई बाहिरै रहेर उनले दुख दिन सफलनै रहे । थापा अहिले ‘कर्मा हराउ अभियान’मा जोडतोडले लागेका छन् । आफुप्रति आस्था राख्ने प्रतिनिधिलाई उनले पंजकबिक्रम नेम्वाङको प्यानलमा समावेश गरेका छन् । सुनिन्छ, नेम्वाङ प्यानलमै थापा बहुमतमा छन् ।
३. इन्द्रमान तुलाधर :
चुप बसेर राजनीति कसरी गर्नपर्छ, कसैले इन्द्रमान तुलधारसँग सिके हुन्छ । एन्फा राजनीतिलाई नजिकबाट बुझ्नेलाई भन्छन्, फुटबल त इन्द्रमानकै वरपर छ । जब एन्फाको चुनाव आउँछ, सबैको नजर इन्द्रमानतिर हुन्छ । ‘चेन्ज एन्फा’ भनेपनि कर्माछिरिङले इन्द्रमान छोड्न सकेनन् । उनै इन्द्रमानका कारण शेर्पाले पंकजदेखि वीरबहादुर खड्का, दावा लामा, नविन पाण्डे जस्ता सहयात्री गुमाए । तर इन्द्रमानलाई यसमा केही लिनु÷दिनु छैन । कुरा क्लियर छ, उनी शेर्पा प्यानलबाट महासचिवमा दोहरिन चाहन्छन् । त्यसैले शेर्पाको प्यानल घोषणा कार्यक्रममा तुलाधर उद्घोषक भएर उपस्थित भएका थिए । इन्द्रमान बिना फुटबलको सत्ता बन्न गाह्रो छ, बनेपनि चलाउन गाह्रो । एक समय उनै इन्द्रमान काठमाडौंका धेरै क्लब चलाउन हैसियत राख्थे । अहिले केही कम भएको होला, तर इन्द्रमान एन्फा चुनावका सदाबहार खेलाडी हुन् ।
४. पंकज बिक्रम नेम्वाङ :
नेम्वाङ सधै एन्फा नेतृत्वको दाबेदार थिए । फरक यत्ति हो, कतै कथाले अली छिटो माग गर्यो कि भन्ने हो । नेम्वाङलाई एन्फाको ‘फ्युचर लिडर’ भनिन्थ्यो । तर चार वर्ष नबित्दै उनले अध्यक्षका प्रत्यासी बनेर मैदान उत्रिएका छन् । नेपालको फुटबलमा काठमाडौं र पूर्वको आफ्नै अन्तरसंघर्ष छ । तर नेपालको फुटबललाई पूर्वले धेरै दिएको छ, जसमा कुनै शंका छैन । त्यही पूर्वको शक्ति बोकेर नेम्वाङ चुनावी प्रतिस्पर्धामा छन् । उनको शक्ति भनेकै पूर्वको समर्थन हो । पूर्व मात्र हैन, क्लब हुँदै बागमती, मधेश प्रदेशमा उनले प्रभाव विस्तार गरेका छन् । शेर्पा हुँदा नेम्वाङ सेकेन्ड म्यान थिए, अब नेतृत्वका लागि प्रतिस्पर्धामा छन् । तर हिजो जसकाविरुद्ध बिद्रोह गरेका थिए, आज उसैलाई बोक्नुपर्ने बाध्यता उनीसँग छ । त्यही उनको चुनावको महत्वपुर्ण पुँजी हो ।
५. शिक्षित पराजुली :
सरस्वती क्लबका अध्यक्ष हुन्, शिक्षित पराजुली । चेन्ज एन्फाका एक अभियान्ता । फुटबलमा उनलाई सबैले ‘शिक्षित दाई’ भन्छन् । अघिल्लो पटक उनले पदमा खासै दाबी गरेनन् । साथीहरु मिल्ने शर्तमा आफुले चुनाव लडेनन् । यसपटक यिनै शिक्षितले शेर्पा प्यानलमा वरिष्ठ उपाध्यक्षमा दाबी गरे । अध्यक्ष शेर्पा सके महासचिव तुलाधर वा विज्ञानराज शर्मालाई वरिष्ठ उपाध्यक्षमा छलफल चलाएका थिए । तर शिक्षितका अघि उनको केही जोर चलेन । बी डिभिजनका अधिकांश क्लबले शिक्षितलाई वरिष्ठ उपाध्यक्षमा प्रस्ताव गरे । सबैको पहुँचमा रहने, भनि नबिराउने, फुटबलमा मन खोेलेर खर्च गर्ने उनको स्वभावले धेरैलाई तान्ने गर्छ । उपत्यकाको क्लब फुटबलमा राम्रो पकड रहेका पराजुली जिल्ला फुटबलमा समेत प्रभाव राख्छन् ।
६. रत्नकुमार श्रेष्ठ :
फुटबलमा गण्डकी प्रदेश एक हुदैनथ्यो त, फुटबलमा कर्माछिरिङ शेर्पाको सत्ता कुनैपनि बेला ढल्न सक्थ्यो । जब जब केन्द्रमा शेर्पालाई समस्या पर्यो, तब गण्डकी एक भएर त्यसको प्रतिरक्षामा उत्रियो । फुटबलमा गण्डकीलाई एक बनाउन र शेर्पाको सत्ता जोगाउने मुख्य खेलाडीको रुपमा रहे, रत्नकुमार श्रेष्ठ । उनै श्रेष्ठ यतिबेला शेर्पा प्यानलबाट उपाध्यक्षको उम्मेदवारको रुपमा चुनावी प्रतिस्पर्धामा छन् । एन्फा राजनीतिमा श्रेष्ठ पुराना खेलाडी हुन् । तर उनी अहिले शेर्पा समुहको एउटा खम्बा बनेका छन् । गण्डकी मात्र नभएर अन्य जिल्लामा समेत प्रभाव राख्ने भएकाले रत्नलाई फुटबल संघको राजनीतिमा बलियो मानिन्छ ।
७. कुमार केसी :
पश्चिम नेपालको फुटबलका सर्वमान्य नेता हुन्, कुमार केसी । फुटबलको सत्ता संघर्ष र सत्ता भोगबाट टाढै बस्न रुचाउने स्वभावका कुमार एन्फा राजनीतिमा प्रभावशाली मानिन्छन् । जिल्ला फुटबल मात्र हैन क्लब फुटबलमा समेत कुमारको बलियो पकड छ । लुम्बिनी सहित पश्चिम नेपालका अधिकांश जिल्लामा एकछत्र प्रभाव बनाएका कुमार एन्फाको सत्ता समिकरणको बलियो खेलाडी हुन् । उनै कुमार शेर्पा प्यानलबाट एन्फाको आसन्न निर्वाचनमा उपाध्यक्षको प्रत्यासी बनेका छन् । फुटबलको राजनीतिमा कुमारको अर्को परिचय भनेको एन्फा अध्यक्षको मुख्य सहयोगीको भुमिकाको रुपमा हो । एन्फा अध्यक्ष शेर्पालाई राजनीतिक र रणनीतिक हिसाबले सहयोग पुर्याउने भुमिका उनैले निर्वाह गर्ने गरेका छन् । नेम्वाङ्ग सहित पूर्वका जिल्ला कर्माविरुद्ध उत्रदा कुमारले पश्चिमबाट त्यसको ‘भरथेग’ गरेका छन् ।
८. दावा लामा :
एन्फाको राजनीतिमा पंकजबिक्रम नेम्वाङ्गका भरपर्दा सारथी हुन्, दावा लामा । दावा सारथी मात्र हैन, पंकजको बलियो भोट बैंक पनि हुन् । दावाको क्लब सी डिभिजन लिग खेल्छ । सीका अधिकांश क्लबमा दावाको बलियो पकड छ । सी डिभिजनमा दावाको पकडनै केन्द्रिय राजनीतिमा पंकजको एउटा शक्ति हो । दावा हुदैनथे भने, क्लब फुटबलमा पंकज कमजोर पर्न सक्थे । बी र ए डिभिजनमा पंकजको खस्किदो अंक गणितलाई दावाले सीबाट केही ‘म्यानेज’ गरेका छन् । सीमा देखिएको दावाको शक्तिलेनै उनलाई एन्फाको आसन्न निर्वाचनमा उपाध्यक्ष पदको प्रत्यासी बनाएको छ ।
९ टासी घले :
टासी घले नेपाल गल्फ संघका केन्द्रिय अध्यक्ष हुन् । तर यि टासीलाई फुटबल जति अरु खेलले कहिल्यै तानेन । ‘तन’ गल्फमा भएपनि मन उनको फुटबलमै रह्यो । दुखको कुरा न मनाङ क्लब उनको रह्यो, न जिल्लानै हातमा पर्यो । तर टासी एन्फाको हरेक चुनावमा सक्रिय भैहाल्छन् । अघिल्लो चुनावमा उनी ‘किंगमेकर’ भुमिकामा थिए । मानार्थ अध्यक्षनै पाए । तर टासी मानार्थ खाएर कसरी बस्न सक्थे ? सक्रिय भुमिका खोज्न थाले । त्यसले एन्फा नेतृत्वसँग उनको सम्बन्ध बिग्रियो । एन्फा चुनावको कुराकानी समावेश अडियो टेप सार्वजनीक गर्ने जस्तो तल्लो स्तरकै क्रियाकलापमा उनी मुछिए । अदालतमा लडेरै पनि खोसिएको मानार्थ अध्यक्ष फिर्ता ल्याए । एक समय एन्फाको अध्यक्ष लड्छु भन्थे, तर अहिलेको चुनावमा उनी एक चुनावी खेलाडीको रुपमा शेर्पा प्यानलमा लागेका छन् ।
१०. नविन पाण्डे :
नविन पाण्डे नेपाली फुटबलमा के हुन् र ? प्रश्न यस्तो पनि सुनिन्छ ।
त्यसो भए के हैनन् त ? उत्तर यस्तो पनि आउँछ ।
एन्फा अध्यक्ष शेर्पासँगै उनी नेपाली फुटबलमा देखिएका थिए । एन्फाको नेतृत्व परिवर्तनमा उनी मुख्य भुमिकामा खेले । शेर्पा अध्यक्ष भएपछि संगै बसेर काम पनि गरे । तर उनको एन्फा बसाई लामो रहेन । लाग्छ, न उनले नेपाली फुटबल बुझ्न सके, न उनको क्षमतालाई फुटबलले प्रयोग गर्न सक्यो । भनिन्छ, जर्मन बस्ने नेपाली मुलका पाण्डे नेपाली फुटबललाई अति प्रेम गर्छन् । तर फुटबलको घृणा र प्रतिशोधको राजनीतिमा उनी बढी देखिए । कुनै समय एन्फाको नेतृत्व परिवर्तन र फुटबलको राजनीतिमा पाण्डे ‘सहायक हिरो’ जस्ता थिए । तर उनी अहिले आफैले बनाएको भिलेनसँग सहकार्यमा छन् । अन्तराष्ट्रिय सम्बन्ध, रणनीतिक क्षमताका हिसाबले पाण्डे नेपाली फुटबलका अझै प्रभाव राख्छन् ।
११ नरेन्द्र श्रेष्ठ :
एन्फामा चुनावी सरगर्मी सुरु हुदै गर्दा एनआरटी क्लब कर्माछिरिङ शेर्पाको समर्थनमा थियो । तर चुनावी प्रतिस्पर्धा पेचिलो बन्दै जादा एनआरटी उपाध्यक्षको पद सहित पंकजबिक्रम नेम्वाङको कित्तामा पुग्यो । त्यसमा सबैभन्दा ठुलो भुमिका खेले, एन्फाका पूर्व अध्यक्ष नरेन्द्र श्रेष्ठले । उनै श्रेष्ठ नेम्वाङ प्यानलको घोषणा सभाको अध्यक्षता गरिरहेका थिए । फुटबलका पुराना नेता श्रेष्ठनै एन्फाको अध्यक्षमा उठ्ने चर्चा पनि चलेको थियो । तर अन्तिममा उनी नेम्वाङको अभिभावकत्व ग्रहण गर्दै एन्फा चुनावमा प्रकट भए । एक पटक एन्फा अध्यक्ष भएका श्रेष्ठले काठमाडौंको फुटबलमा धोर–थेर प्रभाव राख्छन् । आफ्नो कार्यकालमा फुटबल चलाउन नसकेपनि उनको व्यक्तित्वमा खोट लगाउने ठाउँ भने छैन ।