काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाका पुर्व वरिष्ठ उपाध्यक्ष मणी कुँवरले आफु निकटका जिल्ला फुटबल संघका अध्यक्ष र पदाधिकारीलाई सोधिएको स्पष्टिकरणमा आपत्ती जनाएका छन् ।
एन्फा निर्वाचनमा भएको आर्थिक अनियमितता र भ्रष्टचारको बिषयमा आयोजना गरिएको पत्रकारसम्मेलनमा सहभागि भएका विभिन्न जिल्ला फुटबल संघका प्रतिनिधिलाई एन्फाले कार्वाही गर्ने तयारी स्वरुप स्पष्टिकरण सोधेका भन्दै पुर्व वरिष्ठ उपाध्यक्ष कुँवरले यस बिषयमा आफ्नो गम्भिर ध्यानकर्षण भएको जनाएका हुन् ।
साफको उपाध्यक्ष समेत रहेका कुँवरले केही साता अघि पत्रकार सम्मेलनको आयोजना गरेर एन्फा निर्वाचनमा व्यापक आर्थिक अनियमितता भएको भन्दै एएफसी र फिफामा उजुरी दिएको बताएका थिए ।
उनले एन्फाको नयाँ नेतृत्वमाथि लगाएको आरोपको पर्याप्त प्रमाण आफुसंग भएको बताउदै आवश्यक परेको खण्डमा सार्वजनीक गर्ने दाबी गरेका थिए ।
सोही पत्रकार सम्मेलनमा सहभागि भएका भक्तपुर जिल्ला फुटबल संघका प्रतिनिधि सहित विभिन्न जिल्ला प्रतिनिधिलाई एन्फाले स्पष्टिकरण सोधेको भन्दै कुँवरले आपत्ती जनाएका हुन् ।
उनले संघको गलत क्रियाकलापविरुद्ध बोल्दा निरंकुश शैलीमा हस्तक्षप गर्न खोजेको भन्दै आफ्नो अभियान बलियो ढङ्गले अघि बढाउने बताए । उनले निर्वाचनको अनियमितताको छानविन किनारा नलागेसम्म जिम्मेवारीबाट अलग भएर सहयोग गर्न अध्यक्ष कर्माछिरिङ शेर्पा, उपाध्यक्ष पंकजविक्रम नेम्वाङ र अन्तराष्ट्रिय संयोजक रहेका जर्मन नागरिक नविन पाण्डेलाई अनुरोध गरेका छन् ।