काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्रमा रग्बीको विश्वकप ट्रफी प्रदर्शनी गरिएको छ । नेपाल भ्रमणमा रहेको विश्वकप ट्रफी शुक्रबार पाटन दरबार क्षेत्रमा प्रदर्शनी गरिएको हो ।
प्रदर्शनीको क्रममा नेपाली राष्ट्रिय रग्बी टोलीका महिला र पुरुष खेलाडीले ट्रफीको अवलोकन तथा ट्रफीसंग तस्वीर खिचाएका थिए । यस्तै विभिन्न स्कुलका बालबालिकाहरुले ट्रफीको अवलोकन गरेका थिए ।
विश्व सम्पदा सूचीमा सूचीकृत स्थानमा ट्रफी प्रदर्शनी गर्ने कार्यक्रम अनुसार ट्रफी पाटनमा लगिएको हो । त्यसअघि ट्रफी अर्को विश्व सम्पदा सूचीमा सूचीकृत स्थान स्वयम्भुनाथमा प्रदर्शनी गरिएको थियो ।
![Image may contain: 11 people, people smiling, people standing and outdoor](https://scontent.fktm8-1.fna.fbcdn.net/v/t1.0-9/47680139_308233159791354_558917473051607040_n.jpg?_nc_cat=104&_nc_ht=scontent.fktm8-1.fna&oh=82ef0052c41fb4fbb6f735b5ec08fd40&oe=5C68A2FB)
जापानमा आगामी बर्ष आयोजना हुने विश्वकपको ट्रफी आजै बौद्धनाथ, पशुपतिनाथमा पुर्याईने आयोजक नेपाल रग्बी संघले जनाएको छ । यसअघि बिहिबार ट्रफी सगरमाथाको आधार शिविरमा लगिएको थियो।
विश्व रग्बी ट्रफी टुर अन्तर्गत विश्वकप ट्रफी बुधबार नेपाल आइपुगेको हो । अब विश्वकप ट्रफी शनिबार टुडिखेलमा आयोजना हुने रग्बी फेस्टिभलको दौरान प्रदर्शनी गरिनेछ छ । फेस्टिभलमा स्कुल रग्बी प्रतियोगिता, महिला रग्बी सेभेन, पुरुष रग्बी प्रतियोगिता र लाइभ कन्सर्ट समेत हुने आयोजकले जनाएको छ ।
ट्रफी टुरको अन्तिम दिन आइतबार राष्ट्रपति लगायत विशिष्ट व्यक्तित्वहरुसंग फोटो खिच्ने र प्रदर्शनी गरीने कार्यकम रहेको छ ।
नेपालमा रग्बीको विश्वकप ट्रफी पहिलोपटक ल्याईएको हो । नेपालमा यसअघि विश्वकप फुटबल र विश्वकप क्रिकेटको ट्रफी ल्याईसकिएको छ ।
![Image may contain: 3 people, indoor](https://scontent.fktm8-1.fna.fbcdn.net/v/t1.0-9/47505304_308233083124695_5554000120887902208_n.jpg?_nc_cat=105&_nc_ht=scontent.fktm8-1.fna&oh=e5a69942b10b1849adaea5e3c4f538d5&oe=5C9F0363)
रग्बी विश्वकप सन् २०१९ को सेप्टेम्बर २० देखि जापानमा आयोजना हुँदैछ । एसियामा पहिलोपटक रग्बीको विश्वकप हुन लागेको हो । उक्त विश्वकपमा २० राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।