काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले साग खेलकुदको दौरान सामान खरिदमा भएको अनियमितताको छानबिन गर्न समिति गठन गरेको छ ।
परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले साग प्रतियोगिताको दौरान ब्याडमिन्टन खेलका खेलाडीको जुत्ता र म्याट खरिदका भएकाे भनिएकाे अनियमितताकाे बिषयमा छानबिन गर्न समिति गठन गरेका हुन् ।
राखेप सदस्य सचिव सिलवालले बोर्ड सदस्य गोबिन्द भट्टराईको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेका छन् ।
समितिमा भट्टराई सहित अर्जुन बिक, महेन्द्रकुमार राई, नारायण अर्याल, पासाङ शेर्पा सदस्य रहेका छन् ।
समितिलाई २१ दिनभित्र घटनाको छानबिन गरि प्रतिवेदन पेश गर्न समय दिईएको छ ।
१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा विभिन्न खेल र खेलाडीको सामान खरिदमा अनियमितता भएको खबर सार्वजनीक भएसंगै युवा तथा खेलकुद मन्त्रालयले राखेपलाई छानबिन गरि आवश्यक कारबाही गर्न निर्देशन दिएको थियो ।
गत शुक्रबार बसेको राखेपका उपलब्ध पदाधिकारीको बैठकमा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले साग खेलकुदको दौरान खेल र खेलाडी लागि खरिद गरिएको जुत्ता, म्याट लगायतका आधारभुत सामाग्रीको दाखिला तथा वितरणमा भएको भनिएको अनियमितताको छानबिन गरि दोषी ठहर भए कारबाही गर्न राखेपलाई निर्देशन दिएका थिए ।
परिषद्का बोर्ड सदस्य सुबास श्रेष्ठले साग खेलकुदको दौरान ब्याडमिन्टन खेलाडीको जुत्ता र म्याट खरिदमा अनियमितता भएको सार्वजनिक रुपमा आरोप लगाएपछि मन्त्रालयले समिति गठन गरि छानबिन प्रक्रिया अघि बढाउन राखेप सदस्य सचिवलाई निर्देशन दिएकाे हाे ।
साेही अनुसार परिषद्ले छानबिन समिति गठन गरि अनुसन्धान प्रकृया अघि बढाउन थालेकाे हाे ।