काठमाडौं । इन्डोनेसियामा जारी १८ औं संस्करणको एसियन गेम्समा नेपालले तेस्रो दिन सोमबार पनि सम्झन लायक प्रदर्शन गर्न सकेन ।
आइतबारको दिन झैँ नेपालले सोमबार केहि खेलमा दोस्रो चरण यात्रा तय गरेपनि पदक जित्न सकेन । दोस्रो दिन आधा दर्जन खेलमा प्रतिस्पर्धा गरेको नेपालले पदक जित्न सकेन । नेपालले आशा गरेको मार्सल आर्ट्सका खेलले पनि नेपाललाई पदकको खडेरी तोड्न सकेन ।
तेक्वान्दोमा नेपालका सागर गुभाजु दोस्रो चरणमा पुगेपनि पराजित भए । ब्याडमिन्टनको पुरुष टिम इभेन्टमा नेपाल क्वाटरफाइनलमा रोकियो । सुटिङमा नेपालको चुनौती समाप्त भयो ।
लनटेनिसको महिला डबल्समा नेपालका मायांका राणा र माहिका राणाको जोडी प्रिक्वाटरफाइनलमा पुग्नु नेपालको लागि ठुलो सफलता बन्यो । पदकको आशा गरेको प्याराग्लाइडिङमा नेपालको सम्भावना कायम रह्यो ।
जारी एसियन गेम्सको दोस्रो दिनसम्म चीन शीर्ष स्थानमा यथावत रहेका छन् । चीनले १५ स्वर्णसहित कुल ३६ पदक जितेको छ । दोस्रो स्थान रहेको जापान ८ स्वर्णसहित कुल ३० पदक जितेको छ ।
५ स्वर्णसहित कुल २४ पदक जितेको दक्षिण कोरिया तेस्रो स्थानमा रहेको छ । भारतले २ स्वर्णसहित कुल ८ पदक जितेको छ ।
नेपालको दोस्रो दिन कस्तो रह्यो ?
लनटेनिस :
१८ औं एसियाली खेलकुद अन्तर्गत लनटेनिसको महिला डबल्समा नेपालका मायांका राणा र माहिका राणाको जोडी सोमबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
पालेम्वाङमा भएको खेलमा मायांका र माहिकाको जोडीले माल्दिभ्सका जोडीलाई ६–४ र ६–१ को सोझो सेटमा पराजित गरे । प्रिक्वाटरफाइनलमा उक्त जोडीले जापानसंग मंगलबार खेल्ने छन् ।
पुरुष डबल्समा भने नेपालका संरक्षकभूषण वज्राचार्य र अभिषेक बाँस्तोलाको जोडी भारतीय जोडीसंग ६–१ र ६–१ को सीधा सेटमा हारे ।
पाराग्लाइडिङ:
व्यक्तिगत एक्युरेसीको पहिलो २ राउन्डको खेल सकिँदा नेपालका विजय गौतम तेस्रो स्थानमा छन् ।
पहिलो स्थानमा इन्डोनेसियाका मेगावान्तो जाफ्रो छन् । यस्तै दोस्रो स्थानमा थाइल्यान्डका विटेहाम जिरासाक छन् । यो प्रतिस्पर्धाको तेस्रो राउन्ड केहि खेलाडीले सकेपनि नेपालका गौतमले खेल्न बाँकी छ । ६ राउन्डसम्म चल्ने यो प्रतिस्पर्धा बुधबार सकिने नेपाल प्याराग्लाइडिङ संघका महासचिव शैलेन्द्र राउतले जानकारी गराए । यो इभेन्टमा २९ खेलाडीले भाग लिएका छन् । अर्का नेपाली खेलाडी सुशील गुरुङ्ग भने २५औं स्थानमा छन् ।
उता एक्युरेसीको महिला टिम इभेन्टको दोश्रो चरण समाप्तिमा नेपाल चौथो स्थानमा छ । इन्डोनेसिया पहिलो स्थानमा छ भने दक्षिण कोरिया दोस्रो र थाइल्यान्ड तेस्रो स्थानमा छन् । यो इभेन्टमा ९ राष्ट्र सहभागी छन् ।
पुरुष टिम इभेन्टको २ चरण सकिदा नेपाल आठौं स्थानमा छ । यो स्पर्धा पनि इन्डोनेसिया पहिलो स्थानमा छ भने थाइल्यान्ड दोस्रो र चीन तेस्रो स्थानमा छ । यो इभेन्टमा १५ देशबीच प्रतिस्पर्धा भइरहेको छ । नेपालले प्याराग्लाइडिङको क्रस कन्ट्री इभेन्टमा पनि प्रतिस्पर्धा गर्न बाँकी छ ।
ब्याडमिन्टन:
ब्याडमिन्टनको पुरुष टिम इभेन्टमा नेपाल सोमबार क्वाटरफाइनलमा पराजित भएको छ । नेपाल चाइनिज ताइपेईंसंग ३–० ले पराजित भयो ।
पहिलो सिंगल्समा नेपालका रत्नजित तामाङ २१–१६ र २१–१३, दोश्रोमा नेपालका दीपेश धामी २१–५ र २१–१४ तथा तेश्रोमा नेपालका नवीन श्रेष्ठ २१–१० र २१–११ को सोझो सेटमा पराजित भए ।
महिला टिम इभेन्टमा भने नेपालको चुनौती समाप्त भइसकेको छ । ब्याडमिन्टनअन्तर्गत व्यक्तिगत स्पर्धाका खेलहरु अगष्ट २४ तारिखदेखि सुरु हुनेछ ।
पौडी :
एसियाली खेलकुदको पौडीमा सोमबार दुई नेपाली महिला खेलाडीले प्रतिस्पर्धा गरेका थिए । गौरिका सिंह र टीसा शाक्य दुवैले १ सय मिटर फ्रिस्टायलमा भाग लिएका थिए ।
२७ खेलाडी सहभागी उक्त स्पर्धामा गौरिका १८ औं र टीसा २२ औं स्थानमा रहे । गौरिकाले निर्धारित दूरी तय गर्न १ मिनेट ००.८२ सेकेन्ड समय खर्चिन् । टीसाले १ मिनेट ०३.९६ सेकेन्डमा दूरी तय गरिन् ।
मंगलबार नेपालका शिरीष गुरुङले पुरुष ५० मिटर फ्रिस्टायलमा सहभागिता जनाउने छन् ।
तेक्वान्दो:
तेक्वान्दोको गेरोगीतर्फ पुरुष ५८ केजीमुनि नेपालका सागर गुभाजु क्वाटरफाइनलमा पराजित भएका छन् । सागर भियतनामका खेलाडीसंग २५–५ अंकले पराजित भए । त्यसअघि अन्तिम १६ को खेलमा सागरले भुटानका दोर्जी तेन्जिङलाई ५४–४० ले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेका थिए ।
त्यसैगरी महिला ५३ केजीमुनि नेपालकी निमा गुरुङ लेबनानकी खेलाडीसंग २३–१० तथा ६७ केजीमुनि नेपालकी संगीता नेपाली बस्याल फिलिपिन्सकी खेलाडीसंग २०–१७ ले पछि परे ।
मंगलबार ३ खेलाडीले नेपालको चुनौती पस्कने छन् । महिला ६७ केजीमुनि निशा रावल र ५७ केजीमुनि ज्ञानी चुनारा तथा पुरुष ८० केजीममाथि अनोज पुजारीले खेल्नेछन् ।
सुटिङ:
सुटिङमा नेपालको चुनौती समाप्त भएको छ । नेपालबाट एक पुरुष र दुई महिला गरी ३ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । पुरुषमा सुशे चौधरी तथा महिलामा कल्पना परियार र सुस्मिता नेपालले व्यक्तिगत १० मिटर एयर राइफलमा भाग लिएका थिए ।
उक्त स्पर्धा ६ सय ५४ पूर्णाङ्कको थियो । सुशेले ५ सय ८१ को प्रदर्शन गरे । ४४ जना सहभागीमा सुशे ४२ औं स्थानमा रहे ।
त्यस्तै कल्पनाले ५९४.८ र सुस्मिताले ५८७.१ अंक जोडे । ४८ खेलाडी सहभागी यो स्पर्धामा कल्पनाले ४५ औं र सुस्मिताले ४६ औं स्थान हात पारे । दुई राष्ट्रका खेलाडी अनुपस्थित रहे ।
उसु :
बाह्र खेलाडी सहभागी महिलाको नान् ताउमा नेपालकी निमा घर्ती मगरले ११ औं स्थान हासिल गरेकी छन् । निमाले ९.१७ अंक जोडिन् ।
पुरुष छान् छ्वानमा नेपालका युवराज थापा मगरले ८.२२ अंकसाथ २१ औं स्थान हात पारे । २३ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । सान्सौंतर्फ पुरुष ५६ केजीमा पदम ठकुल्ला लाओसका खेलाडीसंग पराजित भए ।
साइक्लिङ :
साइक्लिङको डाउनहिलतर्फ नेपालका राजेश मगर सातौं स्थानमा रहे । नेपाल च्याम्पियन राजेश ९ खेलाडी रहेको यो स्पर्धामा सातौं स्थानमा रहेका हुन् । मगरले टिमोर लेस्टेका लि माटियासलाई २९ सेकेण्डले पछि पार्दै सातौं स्थानमा आएका हुन् । तर, उनी स्वर्ण पदक जित्न सफल ईन्डोनेसियाका खोईफुल मुकिबभन्दा ११ दशमलव ८५ सेकेण्डले पछि परे ।
यो स्पर्धामा चाईनिज ताईपेईका शेङसान चियानले रजत पदक जित्दा सुब्साकुन सुक्छान्याले कास्य पदक हात पारे । साइक्लिङको क्रस कन्ट्री रेस मंगलबार हुनेछ । यो विधामा महिलातर्फ लक्ष्मी राई र पुरुषतर्फ बुद्धिबहादुर तामाङले प्रतिस्पर्धा गर्दैछन् ।