काठमाडौं । राष्ट्रिय फुटबल टिमको ‘म्यानेजर’लाई लाभको पदको रुपमा लिईन्छ । एन्फाको पछिल्लो चुनावी राजनीतिमा दुवै समूहले म्यानेजर पदलाई विभिन्न ठाउँ र पात्रसँग प्रस्ताव गरेका थिए । राष्ट्रिय फुटबल टिमसँग देश विदेश घुम्न मिल्ने, आकर्षक भत्ता, अन्तराष्ट्रिय एक्सपोजर, राष्ट्रिय गौरवको टिमलाई व्यवस्थापन गर्ने भएकाले म्यानेजर पदका लागि एन्फामा लुछाचुडी हुने गरेको छ ।
एक समय फुटबलको राजनीतिलाई व्यवस्थापन गर्न पालैपालो सबैलाई भाग पुर्याएर म्यानेजर बनाउने चलन थियो । पछिल्लो चार वर्षे कार्यकालमा एकै जना व्यक्तिले ‘म्यानेजर’को भुमिका निर्वाह गर्ने मौका पाए । एन्फा राजनीतिमा महत्वपुर्ण सहयोग गरेका मधुसुदन उपाध्यायलाई निवर्तमान एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले ‘सोलो’ म्यानेजरको रुपमा चार वर्ष राष्ट्रिय टिम व्यवस्थापनको अवसर दिए ।
फुटबलमा सेवा गर्छु भन्दैमा अवसर पाइदैन । फुटबल विकासमा सेवा गर्छु भन्नु कठिन काम हो । यसका लागि एन्फाको राजनीतिलाई जित्न सक्नुपर्छ । नविन पाँडेलाईनै हेर्नुस । उनले एन्फाको राजनीतिलाई जिते । त्यसैले त पुन अन्तराष्ट्रिय सम्बन्ध विभाग प्रमुखको रुपमा फुटबलको सेवा गर्ने मौका पाएका छन् ।
‘फुटबलमा राजनीति गर्छु भन्नेहरु कहाँ छन् पतो छैन । तर टूर एण्ड ट्राभलबाट टिकट बेच्न एन्फा छिरेका मधुशुदन उपाध्याय फुटबलको नेता बनेरै निस्किए ।’ एमालेको खेलकुदका एक जना वरिष्ठ नेता यसो भन्दै उपाध्यायको गिल्ला गर्छन् ।
खैर राष्ट्रिय टिमको म्यानेजर बन्न उपाध्यायका लागि सजिलो थिएन । तर ठुलै पहाड छिचोलेर उनी म्यानेजर बनेका थिए । तत्कालिन अवस्थामा दावा लामादेखि पूर्णमान चित्रकार म्यानेजर बन्ने दौडमा थिए । तर शेर्पाका खास सहयोगी उपाध्यायले यो अवसर प्राप्त गरे । शेर्पाकै कार्यकालमा नेपाली टिमले विश्वकप छनोट खेल्न अष्ट्रेलियादेखि धेरै अन्तराष्ट्रिय ‘टूर’ तय गर्यो । टिमको व्यवस्थापनको जिम्मेवारी उनै मधुसुदनले गरेका थिए ।
सबै ठिक ठाक चलेको जस्तो देखिन्थ्यो ।
जब मुख्य प्रशिक्षकको रुपमा अब्दुल्लाह अलमुताइरीले राष्ट्रिय टिम सम्हाल्ने भए, एकपछि अर्को विवादको श्रृङ्खला सुरु भयो ।
सबैभन्दा ठुलो विवाद त अलमुताईरीले फेसबुक स्टाटस लेख्दै तत्कालिन वरिष्ठ उपाध्यक्ष, अहिलेका अध्यक्ष पंकजबिक्रम नेम्वाङलाई सार्वजनीक रुपमा दोष लगाउँदै राष्ट्रिय टिमबाट बिदा लिने घोषणा गरे । अलमुताईरीको आरोप थियो, आफुविरुद्ध लेखिएको फेसबुक स्टाटसमा नेम्वाङले ‘लाईक’ गरेका थिए । आफुलाई पत्रकारसँग विवादमा फसाउने काम उनै नेम्वाङले गरेको अलमुताईरीको ठम्याई थियो ।
हुन त एन्फाभित्रको शक्ति संघर्ष उत्कर्षमा थियो । त्यो समय नेम्वाङले अध्यक्ष शेर्पाविरुद्ध ‘जेहाद’ छेडेका थिए । शेर्पा नजिकका पात्र नेम्वाङको तारोमा थिए । अलुमताईरीविरुद्ध समेत नेम्वाङले पत्रकार प्रयोग गरेको ‘ब्रिफिङ’ उनलाई नजिक हुनेबाट गरिएको थियो ।
अलमुताईरीलाई त्यो ब्रिफिङ गर्ने पात्र को थियो ?
अर्को घटना प्रशिक्षक र खेलाडी विवादको रह्यो ।
प्रशिक्षणको क्रममा खेलाडीलाई होटल राख्ने विषयमा अलमुताईरी र उप कप्तान रोहित चन्दबीच ‘नोकझोक’ चल्यो । केही बेरमा चन्दलाई प्रशिक्षकले राष्ट्रिय टिमबाट निकाले ।
खेलाडीलाई ब्रिफिङ गर्ने क्रममा अलमुताईरीले रोहितको दाई एन्फा चुनावी मोर्चामा फरक प्यानलमा लागेको, जिल्लामा चुनाव लड्न लागिरहेको, रोहितलाई दाईले उकासेको, रोहितकै दाई सहितको समुहले उजुरी गरेर फिफाले एन्फालाई दिने पैसा रोकेको र सोही कारण फिफा, एएफसी लगायतबाट पैसा रोकिएको कुरा गरेका थिए ।
तर एन्फाभित्रको प्रशासनीक र राजनीतिक विषयमा प्रशिक्षकले किन खेलाडी समक्ष बोले भन्ने महत्वपुर्ण विषय हो । यो कुरा उनले कहाँबाट थाहा पाए, कसले उनलाई यो विषयमा जानकारी गरायो भन्ने हो ।
सबैले यस विषयमा अलमुताईरीसँग नजिक रहेर काम गर्ने राष्ट्रिय टिमका म्यानेजर उपाध्यायलाई जोडेर हेर्ने गर्छन् । उनी एन्फा अध्यक्ष शेर्पाका भित्रिया थिए । एन्फाका निर्वाचित कार्यसमितिका सदस्य हुन् । उनको मुख्य जिम्मेवारी एन्फाको नीति बनाउने र त्यसको कार्यान्वनयन गर्ने हो । तर नीति निर्मातानै लाभको पदमा फस्दा त्यसले फुटबल र सत्तालाई कसरी बिगार्छ भन्ने राम्रो पाठ यसले सिकाउँछ ।
एन्फा र राष्ट्रिय टिमलाई जोड्ने पुलको काम व्यवस्थापक बाहेक अरुले गर्ने कुरापनि भएन ।
खेलाडी प्रशिक्षक विवादमा एन्फाद्धारा गठिन छानविन समितिले मुख्य व्यवस्थापकको सन्दर्भमा गम्भिर निष्कर्श निकालेको छ, ‘खेलाडीसँग हुदाँ पनि उहाँले आफ्नो पदीय जिम्मेवारी सन्तोषजनक रुपमा नसम्हालेको, मुख्य प्रशिक्षक तथा खेलाडीलाई सम्झाउन कोशिश नगरेको हुदाँ घटना हुनुमा उहाँ जिम्मेवार देखिनुहुन्छ ।’
साथै, एउटा राष्ट्रिय फुटबल टिमको नेतृत्व गर्ने कार्य क्षमता उहाँमा देखिदैन ।
‘एन्फामा निर्वाचित कुनैपनि व्यक्ति फुटबल राजनीतिबाट प्रेरित भएर आएको हुन्छ । राष्ट्रिय टिमको व्यवस्थापन गर्ने भन्ने कुरा प्राविधिक ज्ञानको विषय हो ।’ एन्फाका एक अधिकारी भन्छन्, ‘राजनीतिक मान्छेलाई प्राविधिक कुराको जिम्मेवारी दिदाँ राष्ट्रिय टिममा त्यसको प्रभाव पर्यो ।’
‘व्यवस्थापकीय कमजोरीको विषयले राजनीतिक रुप लिदाँ यही विषय एन्फाको सत्ता समिकरणनै निर्णायक बन्यो । फुटबलको सत्तामात्र हैन एन्फा र यसको नेतृत्वलाई पटक पटक विवादमा तान्ने काम गर्यो । फुटबलको बदनाम गराउने काम गर्यो ।’ उनी थप्छन् ।
‘एन्फाको नयाँ नेतृत्वमा नेम्वाङ आएका छन् । फेरीपनि राष्ट्रिय टिमको म्यानेजर बन्न धेरै रस्साकस्सी हुनेछ । तर कार्यसमिति बाहिरका सक्षम मान्छेलाई यसको जिम्मेवारी दिएर राष्ट्रिय टिमलाई एन्फाको राजनीतिबाट टाढा राख्ने कोशिश गर्नुपर्छ ।’ ती पदाधिकारी सुझाव दिन्छन् ।