काठमाण्डौ । अखिल नेपाल फुटबल संघ (एन्फा)को विधान मिचेर अन्तराष्ट्रिय सम्बन्ध प्रमुखमा नविन पाँडेलाई नियुक्त गरिएको छ ।
निर्वाचन लगत्तै बसेको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले एन्फाको अन्तराष्ट्रिय सम्बन्ध प्रमुखमा पाँडेलाई नियुक्तिको निर्णय गरेको हो ।
एन्फा विधानको धारा २४ मा एन्फामा निर्वाचित वा मनोनित हुने व्यक्तिको योग्यता बारेमा लेखिएको छ । सो धारामा उपधारा ३(क) मा गैर नेपाली नागरिक मनोनित हुन नसक्ने लेखिएको छ ।
तर एन्फामा निर्वाचित भएको दुई दिन नबित्दै अध्यक्ष पंकज विक्रम नेम्वाङ नेतृत्वको कार्यसमितिले संस्थाको विधान विपरित नियुक्तिको काम गरेको छ । नेम्वाङ नेतृत्वको पहिलो कार्यसमितिको निर्णयनै विवादित देखिएको छ ।
एन्फाले विधान विपरित नेपाली मुलका जर्मनी नागरिक नविन पाँडेलाई अन्तराष्ट्रिय सम्बन्ध प्रमुखको जिम्मेवारी दिएको हो । एन्फाको विधानमा मात्र हैन, संघीय सरकारको राष्ट्रिय खेलकुद विकास ऐन २०७७ ले समेत गैर नेपालीलाई खेल संघमा निर्वाचित वा मनोनितमा रोक लगाएको छ ।
ऐनको धारा २२ को उपधारा ५(क) ले गैर नेपाली नागरिकलाई संघमा मनोनित वा निर्वाचित गर्न रोक लगाएको छ ।
सुशासनको एजेन्डा लिएर चुनाव लडेका नेम्वाङले पहिलो निर्णयनै ऐन, विधान विपरित गरेका छन् ।
पाँडे चार वर्षअघि समेत अन्तराष्ट्रिय सम्बन्ध प्रमुखको रुपमा एन्फा छिरेका थिए । तत्कालिन अध्यक्ष कर्माछिरिङ शेर्पासँग टसल सुरु भएपछि उनले राजीनामा दिएर एन्फा छाडेका थिए । एन्फाबाट अलग भएपछि उनी शेर्पाको विरोधी भएर निस्किएका थिए ।
शेर्पासँग टाढिएका नेम्वाङलाई समाएर पुन चेन्ज एन्फाको नारा उचालेका थिए । एन्फाको पछिल्लो चुनावमा नेम्वाङलाई सहयोग गरेका पाँडेलाई पुन अन्तराष्ट्रिय सम्बन्ध प्रमुखको जिम्मेवारी दिईएको छ ।
तत्कालिन अध्यक्ष शेर्पाले अन्तराष्ट्रिय सम्बन्ध विभाग प्रमुख रहेका पाँडेलाई नेपाल प्रतिनिधिको रुपमा फिफा कांग्रेसको ६८ औं बैठकमा सहभागी गराएका थिए । पाँडेलाई फिफामा नेपालको डेलिगेट्स बनाएर लैजाने शेर्पाको तत्कालिन निर्णयको सर्वत्र आलोचना भएको थियो । एन्फाको हरेक आन्तरिका काममा हस्तक्षेप गर्न थालेपछि शेर्पा र पाँडेको सम्बन्ध बिग्रिएको थियो ।
एन्फा महासचिव किरण राईले पाँडेलाई नियुक्ति गर्ने प्रक्रियामा विधान नमिचेको दावी गर्छन् ।
‘नविन जीले भोलेन्टियर रुपमा काम गर्ने हो । उहाँले सेवा सुविधा लिनुहुन्न । सेवा सुविधा लिनेको हकमा श्रम स्विकृति लिनुपर्ने हो ।’ उनले भने ‘हामीले अन्तराष्ट्रिय सम्बन्धन विस्तारको लागि उहाँलाई जिम्मा दिएको हो । विधानत विभाग गठन भएको हैन । नेपाली फुटबल विकासका लागि उहाँको योगदान उच्च छ ।’
चुनावी मोर्चामा सहयोग गरेवापत नेम्वाङले पाँडेलाई अन्तराष्ट्रिय सम्बन्ध प्रमुख बनाएर गुन तिरेका छन् । फुटबल बदल्ने नारा सहित एन्फा छिरेका नेम्वाङले सुरुवातमै आसेपासेलाई नियुक्ति र पदको लाभ दिन सफल भएका छन् । तत्कालिन अध्यक्ष शेर्पालाई असहयोग गर्दै आफ्नो कित्तामा उभिएका किरण राईलाई महासचिव र रबिन्द जोशीलाई कोषाध्यक्षको रुपमा उनले पुरस्कृत गरेका छन् ।
यता, पाँडेले आफुले मिडियाबाट अन्तराष्ट्रिय सम्बन्ध प्रमुख बनेको थाहा पाएको बताए । ‘विधानमा के छ म जान्दिन, तर म नेपालमा जन्मिएको भएकाले नेपाली फुटबलको विकासमा योगदान दिन चाहन्छु ।’ उनले भने ‘विदेशी नागरिक भएको हिसाबले मैले नेपाली फुटबलमा योगदान दिन नपाउने भन्ने त हुन्न होला नि ?’