काठमाडौं । आज नेपाल र बंगलादेशको महिला राष्ट्रिय टिमबीच दशरथ रंगशालामा मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल हुँदैछ ।
यी दुई देशबीचको खेलको सबैभन्दा ठूलो विशेषता हो, नेपाल बंगलादेशविरुद्ध अहिलेसम्म अपराजित रहेको छ । अर्थात नेपालले अहिलेसम्म बंगलादेशविरुद्ध खेलेका ६ खेलमध्ये कुनैमा पनि हार सामना गर्नु परेको छैन् ।
बरू एक खेललाई छाडेर अन्यमा विजयी नै रहेको छ । एक प्रकारले भन्दा नेपाल बंगलादेशमाथि हाबी रहँदै आएको छ ।
यही बेला खेलपाटीले यी दुई देशबीच अहिलेसम्म भएका खेलको इतिहास पल्टाउने प्रयास गरेको छ । त्यसको पहिलो भागका रूपमा हामीले नेपाल र बंगलादेशबीच भएका सुरुआती दुई खेलका चर्चा गर्नेछौं ।
१. सन् २०१० जनवरी २९, ढाका
नेपालले पहिलो पल्ट बंगलादेशको सामना गरेको भनेको सन् २०१० को दक्षिण एसियाली खेलकुदमा हो । बंगलादेशले त्यस संस्करणको दक्षिण एसियाली खेलकुदको आयोजना गर्दा महिला फुटबललाई पनि समावेश गरेको थियो ।
दक्षिण एसियाली खेलकुदमा महिला फुटबलले प्रवेश पाएको यो नै पहिलो पल्ट हो । लिग चरणमा नेपालले आफ्नो पहिलो खेलमा बंगलादेशलाई १–० ले पराजित गर्न सफल रह्यो । खेलको निर्णायक गोल जमुना गुरुङले गरिन् ।
२. सन् २०१० डिसेम्बर २१, कक्स बजार
दुई देशबीचको पहिलो खेलको एक वर्ष बित्दा नबित्दै सन् २०१० मा फेरि उनीहरू आमना सामना भए र अवसर रह्यो, पहिलो संस्करणको वुमेम्स साफ च्याम्पियनसप ।
लिग चरणको यस खेलमा पनि नेपाल विजयी रह्यो र स्कोर बनेको थियो, ३–० । नेपालका लागि गोल गर्ने खेलाडी थिए, जमुना र अनु लामा । जमुनाले दुई गोल गरिन् ।
यसरी नेपाल र बंगलादेशबीच भएका सुरुआती दुवै खेल बंगलादेशी भूमिमै भए र दुवैमा नेपाल विजयी रह्यो ।