काठमाडौं । जति बेला किरण कुमार चेम्जोङले नेपालका लागि कीर्तिमान ७४ औं खेल खेल्ने अवसर अगाडि आउँदैछ, ठीक यही बेला उनको पहिलो खेलको चर्चा पनि चुलिंदो छ ।
यो स्वभाविक पनि छ, किनभने यही डेब्युमा टिकेर त उनी अहिलेको अवसरसम्म पुगेका हुन् ।
भारतविरुद्धको आइतबार हुने दोस्रो मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल वास्तवमै ऐतिहासिक हुनेछ, उनका लागि मात्र होइन्, पूरा नेपाली फुटबलकै लागि ।
सन् २००८ मा कम्बोडियाको न्होनपेनले एएफसी च्यालेञ्जकप छनोटको समूह डीको खेल आयोजना गरेको थियो । त्यसमा नेपालसँगै आयोजक कम्बोडियो र मकाओ थिए ।
नेपालको पहिलो खेल मआकोविरुद्ध थियो, मे २४ मा । नेपालका प्रशिक्षक थिए, थोमस फ्लाथ । नेपालले पाएका अहिलेसम्मकै अब्बल दर्जाका प्रशिक्षकमा उनको नाम आउँछ ।
उनले नेपाल आउन अगाडि तात्कालीन जर्मन बुंडसलिगा क्लब साल्काको एकेडेमी हेरिसकेका थिए । उनी नेपाल आउँदा गोलरक्षकका लागि त्रिकोणात्मक भिडन्त चलिरहेको थियो ।
ती तीन गोलरक्षक थिए, विकाश मल्ल, रितेश थापा र किरण । यसमा रितेश सबैभन्दा सिनियर हुन्, तर उनलाई नम्बर १ गोलरक्षकको होडमा विकाशले उछिनिरहेका थिए ।
ठीक यही बेला किरण आए र आफूभन्दा सिनियर दुई खेलाडीलाई उछिने र पहिलो नम्बरका बने । फ्लाथले मकाओविरुद्धको त्यस खेलमा किरणलाई डेब्युको अवसर दिए ।
तर, उनका लागि यो सुखद रहेन् । उनी मैदानमा खालि २३ मिनेट मात्र टिके र चोट बोकेर मैदानबाट बाहिरिए । भएछ के भन्दा केही हल्का उचाइ लिएर आएको बेल नियन्त्रण गर्ने प्रयासमा उनको टाउको मकाओका खेलाडीसँग ठोकिएको थियो ।
यसैक्रममा उनको बंगारामा गम्भीर चोट लागेको थियो । मैदानमै लगभग पाँच मिनेट जति उपचार चाहिएको थियो, तर उनी ठीक हुन सकेनन् । उनको स्थानमा रितेशले खेले ।
पछि उनी काठमाडौं फर्के र एउटा निजी डेन्टल क्लिनिकमा उनको उपचार चलेको थियो । उनलाई निको हुन लामै समय लागेको थियो । चोटको उपचारका क्रममा उनलाई खान कम्ती सकस भएको थिएन् ।
मकाओविरुद्धको त्यस खेलमा चोट लागेलगतै किरणलाई लागेको थियो, अब आफूले फेरि खेल्न सक्ने छैन् । तर उनी फर्कन भने सफल रहे, तर यसका लागि तीन वर्षको समय चाहियो । त्यो चोटपछि लामै समय उनी आफ्नो स्वभाविक खेल खेल्न डराइरहे । उनलाई फेरि कोही खेलाडीसँग ठोकिएर त्यही बंगारामै चोट पुग्ला भनेर खुबै डर भएको थियो । पछि यो डर विस्तारै हराएर भने गयो ।
किरणको त्यस डेब्युका साक्षी को को थिए त ? त्यस खेलमा उत्रेको सुरुआती ११ मा किरणसँगै थिए, कप्तान राकेश श्रेष्ठ, चुनबहादुर थापा, लोकबन्धु गुरुङ, विजय गुरुङ, जुमनु राई, विषन गौचन, सन्दीप राई, सागर थापा, विराज महर्जन र भरत खवास ।
सब्टिच्युट भएर मैदानमा प्रवेश गर्नेमा रितेशसँगै अनन्त थापा र राजु तामाङ थिए ।