काठमाडौं । भारत त्यसै पनि नेपालमाथि हाबी छ, त्यसमाथि नेपालले भारतलाई पछिल्ला छ खेलमा हराउन सकेको छैन् । त्यसो भनेको आठ वर्षयता नेपाल भारतविरुद्ध जितविहिन छ ।
हामी नेपाल र भारतबीच सन् दुई हजार दसको दशकमा भएका खेलबारे चर्चा गरिरहेका छौं र यसपल्ट त्यस्ता चार खेलको चर्चा गर्नेछौं, जसको नतिजा सुखद रहेन् । तर त्यसमा नेपालले केही गर्न सक्छ भन्ने विश्वास भने देखिएको थियो ।
इतिहासले के भन्छ, शृंखलाको छैटौं भाग ।
१५. २०१३ नोभेम्बर १९, सिलगुढी
भनिन्छ, सिलगुढीमा पनि फुटबल निकै लोकप्रिय छ, त्यसैले सन् २०१३ मा यही पश्चिम बंगालको सहरले भारत र नेपालबीचको मैत्रीपूर्ण खेलको आयोजना गरेको थियो ।
फेरि सिलगुढी नेपालबाट निकै नजिक पनि छ । संयोग कस्तो रह्यो भने यी दुई छिमेकी देशबीच मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल भएको यो नै पहिलो पल्ट हो । त्यो अर्थमा यो ऐतिहासिक रह्यो ।
तर खेल भने भारतको पक्षमा रह्यो र उसले यो खेल २–० ले जित्यो ।
१६. २०१५ मार्च १२, गुवाहटी
यसपल्ट भने विश्वकप छनोटले नेपाल र भारतबीचको खेलको अवसर जुराएको थियो ।
एसियाली विश्वकप छनोटको दोस्रो चरणमा यी दुई देशबीच दुई लेगमा प्ले अफ भएको थियो र त्यसको पहिलो लेग भएको थियो, भारतको गुवाहटीमा । त्यसमा भारत फेरि एकपल्ट २–० ले विजयी रह्यो र छनोटको अर्को चरण पुग्ने सम्भावनालाई जीवन्त राख्न सफल भयो ।
नेपालका लागि यो खेल हार्नुको अर्थ विश्वकप छनोटको यही चरणमा रोकिनु जस्तै थियो ।
१७. २०१५ मार्च १७, काठमाडौं
गुवाहटीमा भएको खेलका पाँच दिन बित्दा नबित्दै नेपालले भारतको आथित्य गरेको थियो, दशरथ रंगशालामा ।
भारतलाई दोस्रो लेगमा दुई गोलको अग्रता त प्राप्त थियो, तर ढुक्क हुन सकेको थिएन् । भारतीय प्रशिक्षक स्टेफन कन्साइटिनले नेपाल वास्तवमै बलियो विपक्षी टिम रहेको पनि माने । उनी नेपालकै पूर्व प्रशिक्षक पनि हुन् ।
यो खेल भने गोलरहित बराबरीमा टुंगियो । यी दुई छिमेकी देशबीचको खेलमा कुनै गोल निस्कन नसकेको यो दोस्रो अवसर मात्र थियो ।
१८. २०१५ अगस्ट ३१, पुना
पहिलो मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल भएको दुई वर्षपछि भारतले फेरि एकपल्ट यस्तै एउटा अर्को खेलको आयोजना गरेको थियो र यसपल्ट खेल भएको थियो, पुनामा ।
महाराष्ट्रको यस दोस्रो ठूलो सहरमा पनि फुटबल उत्तिकै लोकप्रिय छ ।
यसको नतिजा पनि गोलरहित बराबरी रह्यो । यसरी नेपाल र भारतले लगातार दुई खेल गोलरहित बराबरी खेले ।
यो खेल अर्को एक अर्थमा पनि महत्त्वपूर्ण छ र त्यो हो, यो सागर थापाको अन्तिम खेल थियो । त्यसपछि के भयो, सबैलाई थाहा छ नै ।
र, यो पनि .......
नेपालविरुद्ध भारत : इतिहासमा के छ ? (भाग १)
नेपालविरुद्ध भारत : इतिहासमा के छ ? (भाग २)
नेपालविरुद्ध भारत : इतिहासमा के छ ? (भाग ३)
नेपालविरुद्ध भारत : इतिहासले के भन्छ ? (भाग ४)
नेपालविरुद्ध भारत : इतिहासले के भन्छ ? (भाग ५)