काठमाडौं । नेपालले सन् दुई हजार दसको दशकमा भारतविरुद्ध आठ खेल खेलेको थियो । यसको सुरुआती दुई खेल जहाँ निकै उत्साहबर्ढक रहे भने ठीक त्यहीं त्यसका अन्तिम छ खेल निकै निराशाजक रहे ।
यो समयअवधिमा खेलेका खेललाई पनि तीन भागमा विभाजन गरेर चर्चा गर्नु पर्ने हुन्छ । त्यसमध्ये यस भाग ५ मा हामी सुरुआती तिनै दुई सुखद नतिजाबारे चर्चा गर्नेछौं । त्यसमा पनि दोस्रो खेलका चर्चा अलि बढी नै चाहिन्छ, किनभने यो नतिजा आफैमा ऐतिहासिक छ ।
१३. २०१२ अगस्ट ५, नयाँ दिल्ली
नेपालले सन् २०१२ मा नेहरुकप खेल्ने आमन्त्रण पाएको थियो र यसैक्रममा नेपालको भेट भयो, भारतसँग । त्यति बेला नेपाल खासै लयमा थिएन्, त्यसको ठीक उल्टो भारतले भने राम्रो गरिरहेको थियो । त्यसैले यस खेल अगाडि धेरैको अनुमान थियो, भारतले जित्ने मात्र छैन्, राम्रै अन्तरले जित्ने छ । तर नतिजा यस्तो आएन्, खेल गोल रहित बराबरीमा टुंगियो । नेपालका लागि भारतलाई उसकै भूमिमा बराबरीमा रोक्न सक्नु सन्तोषजनक नतिजा थियो ।
१४. २०१३ सेप्टेम्बर ५, काठमाडौं
नेपालले सन् २०१३ मा दोस्रो पल्ट साफ च्याम्पियनसिपको आयोजना गरेको थियो र कम्तीमा काठमाडौं पूर्णत: फुटबलमय भएको थियो । यसैक्रममा नेपालले भारतमाथि ऐतिहासिक जित निकाल्न सफल रह्यो । यो जितको खासमा धेरै अर्थ छ । नेपाल समूह ए मा थियो र यसमा परेका अन्य टिम थिए, बंगलादेश र पाकिस्तान । नेपालले सुरुआती दुई खेलमा बंगलादेशलाई हराएको थियो भने त्यसपछि पाकिस्तानसँग बराबरी खेलेको थियो ।
यस्तोमा नेपालको सेमिफाइनल प्रवेश निश्चित भइसकेको थिएन् । यस्तोमा लिग चरणको अन्तिम खेलमा भारतको सामना गर्दा नेपाललाई ढुक्क हुने स्थिति थिएन् । फेरि भारतलाई हराएको खण्डमा नेपाल समूह विजेता पनि हुन्थ्यो । आखिरमा यस्तै भयो, नेपालले भारतलाई २–१ ले हरायो । गोल गर्ने खेलाडी थिए, अनिल गुरुङ र जुमनु राई । पहिलो हाफको गोलरहित बराबरपछि अनिलले ७० औं मिनेटमा पहिलो गोल गरे । त्यसको नौ मिनेटपछि जुमनुले दोस्रो गोल थपे ।
भारतले खेलको अन्त्यतिर नेपालमाथि निकै चर्को दबाब सिर्जना गरेको थियो र यही क्रममा एक गोल फर्काउन पनि सफल रह्यो । सयद नाबीले इन्ज्युरी समयको दोस्रो मिनेटमा एक गोल फर्काएपछि खेल निकै तनावपूर्ण र रोमाञ्चक मोडमा पुगेको थियो । यो जित किन ऐतिहासिक छ भने नेपालले भारतलाई हराएको यो तेस्रो अवसर मात्र हो । तर सबैभन्दा प्रभावशाली जित यही हो । सन् १९९३ मा पराजित गर्दा टाइब्रेकर चलेको थियो भने सन् २००६ मा हराउँदा भारत पहिलो रोजाईको टिम थिएन् ।
र यो पनि .......
नेपालविरुद्ध भारत : इतिहासमा के छ ? (भाग १)
नेपालविरुद्ध भारत : इतिहासमा के छ ? (भाग २)
नेपालविरुद्ध भारत : इतिहासमा के छ ? (भाग ३)
नेपालविरुद्ध भारत : इतिहासले के भन्छ ? (भाग ४)