काठमाडौं । हामीले सन् नब्बेतिर नेपाल र भारतबीचका खेलको चर्चा गरिरहेका छौं ।
यो शृंखलाको दोस्रो भागमा दुई खेलबारे चर्चा भइसकेको छ । त्यसमध्ये एउटा त नेपालले भारतलाई हराएर छैटौं दक्षिण एसियाली खेलकुदमा जितेको स्वर्णको खेल हो ।
यही नब्बेको दशकमा नेपालले भारतसँग थप तीन खेल खेलेको छ ।
यी तीनै खेल भने नेपालको दृष्टिकोणबाट निराशाजनक रहे । एक त नेपालले तीनै खेल गुमायो, दोस्रो यी तीनै खेलमा नेपालले कुनै गोल पनि गर्न सकेन् ।
ढाकामा प्राप्त सफलताको कुनै पनि छनक नेपालले यी तीन खेलमा देखाउन सकेन् । फुटबलमा भारत नेपालमाथि हाबी छ, यो यसकै अर्को उदाहरण हो ।
६. १९९५ डिसेम्बर २५, मद्रास
नेपाल र भारतबीचको छैटौं भेट फेरि एकपल्ट दक्षिण एसियाली खेलकुदले नै जुराएको थियो र स्थान थियो, मद्रास ।
यो खेलमा भारतले नेपालको सामना गर्दा पक्कै पनि बदलाको भावना थियो होला, ढाकामा बेहोरेको हारको बदला लिने । त्यसैले यो खेलमा भारतको प्रदर्शन उत्कृष्ट रह्यो र नेपाल मज्जाले ३–० ले पराजित रह्यो ।
यसपल्टको दक्षिण एसियाली खेलकुदमा जहाँ नेपालले पुरुष फुटबलमा कुनै पदक जित्न सकेन्, त्यहीं अपेक्षा अनुसार भारतले स्वर्ण पदक चुम्यो ।
७. १९९८ डिसेम्बर ५, बैंकक
यो समयसम्म एसियाली खेलकुदमा सहभागी हुने राष्ट्रिय टिम नै हुने गर्थे । त्यसैले थाइल्यान्डमा भएको बैंकक एसियाली खेलकुदका अवसरमा फेरि एकपल्ट नेपाल र भारतको भेट भयो ।
यो त्यही समय हो, जति बेला भारतका वाइचुङ भुटिया आफ्नो खेल जीवनको उत्कृष्ट मोडमा थिए । तर पनि नेपाली डिफेन्सलाई उनलाई चुपचाप राख्न सफल भयो ।
नेपाल यो खेलमा पराजित त भयो, तर स्कोर भने धेरै हदसम्म सम्माजनक नै थियो, खालि १–० को ।
८. १९९९ सेप्टेम्बर ३०, काठमाडौं
भारतीय राष्ट्रिय टिमले पहिलो पल्ट औपचारिक रूपमा खेलेको खेल यही हो, तर यसमै नेपाल नराम्रोसँग पराजित भयो ।
भरिभराउ दशरथ रंगशहालामा भारत ४–० ले विजयी रह्यो । रंगशाला बाहिर टिकट किनेर पनि भित्र प्रवेश गर्न नपाएको दर्शकमाथि लाठीचार्ज भइरहेको थियो । भित्र जान नपाएका दर्शक एक अर्थमा भाग्यमानी नै रहे ।
यी दुई देशबीच अहिलेसम्म जति पनि खेल भए, त्यसमा भारतले नेपाललाई सबैभन्दा नराम्रोसँग पराजित गरेको भनेको यही खेल हो । यही दक्षिण एसियाली खेलकुदपछि पुरुष फुटबल पनि राष्ट्रिय टिमको खेल हुन छाड्यो ।
र यो पनि .......
नेपालविरुद्ध भारत : इतिहासमा के छ ? (भाग १)