नाम : सावित्रा भण्डारी
जन्ममिति :२०५४–०२–१०
तौल : ५४
हाईट : ५.५ इन्च
बुबा : फम बहादुर भण्डारी
आमा : मुना भण्डारी
शिक्षा : १२ मा अध्यनरत
बिस २०७० सालतिरको कुरा हो ।
बडादशैको अवसर थियो । लमजुङको घले गाउँमा फुटबल प्रतियोगिता आयोजना गरिएको थियो ।
प्रतियोगितामा एक युवतीले सबैको ध्यान आफुतिर खिच्न सफल भईन् ।
ख्याउटो अनुहार, औसत उचाई र दुख्लो ज्यानकी उनले प्रतियोगितामा गज्जबको प्रर्दशन गरिन् ।
तीव्र गति, सटिक प्रहार अनि कलात्मक शैली, उनले सबैलाई चकितै पारिन् ।
प्रतियोगितामा १० गोल गर्दै उनले टिमलाई च्याम्पियन नै बनाईन् ।
दशै मनाउन लम्जुङ पुगेका एन्फा रेफ्री शुक्र लामाले खेलका प्रत्यक्षदर्शी थिए । उनले तत्काल मैदान छिरेर सोधे हाले, बहिनीको नाम ?
सावित्रा भण्डारी ।
नम्बर देउ ? काठमाडौं बोलाए आउन सक्छौ ?
अवसर पाए कहाँ गुमाउथे र ? युवतीले जवाफ फर्काईन् ।
त्यसको केही महिनापछि सावित्राको मोबाईलमा घण्टी बज्यो । काठमाडौंमा खेल्न आउन उनलाई निम्तो थियो ।
युवतीले ढिला गरिनन् । झोला बोकिन अनि लागिन् सपनाको यात्रामा ।
जुन सपना उनले बाल्यकालदेखि साँचेर राखेकी थिईन् । त्यही यात्रा, जसलाई उनी पर्खेर बसेकी थिईन् ।
गाँउका कथा सबै उस्तै हुन्छन् । दुख र अभाव जोडिएका । सावित्राको कथापनि उस्तै छ ।
घर लमजुङको विकट गाउँमा थियो । परिवार ठुलो थियो । बुवा सरकारी जागिरे भएपनि खाने मुख र ढाक्नु पर्ने जिउ धेरै थिए ।
सानैबाट फुटबल क्रेजी थिईन् उनी । खेल भनेसी हुरुक्कै हुने ।
फुटबल खेल्न र फुटबल पाउन त्यो विकट ठाउँका उनका लागि गाह्रो थियो ।
फुटबल किन्ने रहर थियो । तर परिवारलाई कहिल्यै भनिनन् । चाहिन्छ भनेर कर पनि गरिनन् ।
खाली खुट्टैले मोजाको बलले बाल्यकाल बिताईन् ।
गाउँको ठाउँ, त्यसमा केटी मान्छे । लजाएर हिड्न पर्छ भन्ने उनलाई हिजोपनि लागेन आजपनि लाग्दैन ।
उमेर बढ्दै गयो । फुटबलप्रति उनको लगाव उत्तिकै चढ्दै गयो ।
उमेरसंगै उनीपनि गाउँका क्लबहरुले खेल्ने ‘लोकल’ प्रतियोगितामा जान थालिन् ।
खेतका कान्लामा बसेर खेल हेर्थिन् । मैदान बाहिर झर्ने बलको प्रतिक्षा गर्थिन् । मैदान बाहिर आएका बललाई निशाना बनाउदै हान्ने गर्थिन् ।
‘बल छुदाको मजानै बेग्लै हुने त्यो बेला ।’ उनी सुनाउछिन्, ‘बल हान्न पाउदा समेत खुसी हुने दिन थियो । मोजाको बल हानेको बानी, ठुलो बल हान्न पाउदा कम्ति खुसी लाग्थेन । लगाएको सेन्डिल फुकालेर बल छिटो हान्ने प्रयास गर्थे ।’
गाउँमा ट्रेनिङ्ग थिएन । फुटबलमा लागेर के हुन्छ, फुटबलले के दिन्छ त्यो केहीपनि बुझेकी थिईनन् उनले । यत्ति थियो, फुटबल मन पर्छ, खेल्छु, मैले खेल्नैपर्छ ।
घरमा गाई, बस्तु टन्नै थिए । स्कुलबाट आएर घाँस काटेर मात्र खेल्न पाइन्थ्यो । उनी हतारमा स्कुलबाट आउथिन् । घर वरपरका साथी जम्मा गर्दिन् अनि फुटबल खेल्न निस्किन्थिन् ।
विस्तारै खेल्ने क्रममा उनीलाई गाउँकै दाईहरुले बोलाउन थाले । मोजाको बल खेलिरहने उनले ठुलो बलमा खेल्न पाईन् । फुटबल खेल्ने उनी एक्ली युवती हुन्थिन् । तर, सिनियरलाई कडा टक्कर दिन्थिन् ।
‘लेडिज म एक्लै हुन्थे । जुधेर खेल्न हुदैन भनेर कहिल्यै ‘फिल’ गरिन । कहिले बाहिर हुन्थे । तर जब खेल्न पाउथे, भिडेर खेल्थे ।’ उनी सम्झिन्छिन् ।
सानोमा सावित्रा फुटबलमा मात्र होईन अन्य खेलमा समेत अब्बल थिईन् । राष्ट्रपति रनिङ शिल्डमा उनले भलिबल, एथ्लेटिक्स र सटपुटमा समेत खेलेकी थिईन् ।
एथ्लेटिक्सको सय मिटरमा उनले गोल्ड जितिन् । सटपुटमा तेस्रो भईन् । भलिबलमा रजत पदक हात पारिन् ।
खेलकुदमा राम्रो प्रर्दशन गरेपछि उनले विद्यालय र जिल्लाले सम्मान गर्यो । त्यही समय हो उनले नाम रेडियोले फुकेको, पत्रिकाले छापेको ।
‘खेलमा लागेपछि स्कुल र जिल्लाले दिएको सम्मानले खेलेरे केही गर्न सकिदो रैछ भन्ने लाग्दो रहेछ ।’ उनी सुनाउछिन्, ‘पत्रिका र रेडियोमा नाम आउदा उत्साह जाग्दो रहेछ ।’
तर सावित्राको ध्यान फुटबलमै थियो । स्कुल छदाँ हो उनले नेपालको महिला टिमले साफ खेलेको टिभीमा देखेको । जमुना गुरुङ, अनु लामाको समाचार उनले टिभीमै हेरेको ।
नेपालको महिला टोली देश बाहिर गएर खेल्ने कुरा उनले त्यही बेला थाहा पाईन् ।
नेपालमा महिला फुटबलको बिषय त्यही बेला हो उनको मस्तिस्कमा बसेको ।
‘फुटबलमा आफै पनि क्रेजी । खेल्न पाए कस्तो हुन्थ्यो भन्ने लाग्थ्यो । तर त्यो सपना बाटो पत्ता लगाउन सकेको थिईन् ।’ उनी विगत कोट्याउछिन् ।
जब काठमाडौंबाट खेल्नका लागि सावित्रालाई फोन आयो । घर दुई भागमा बाँडियो । बुवा सधै सावित्राका पक्षमा थिए । आमालाई भने छोरी डुलेर, खेलेर हिडेको मन नपर्ने ।
जब सावित्राले काठमार्डौ जाने निर्णय सुनाईन्, आमाले सिधै अस्विकार गरिन् ।
‘छोरी मान्छे, घरको काम गर्न पर्छ, जान हुदैन भन्ने मत मम्मीको थियो ।’ सावित्रा भन्छिन् ।
तर, सावित्रको जिद्दीको कसको जोर चल्ने ।
उनले घर छाड्ने बेला आमा धेरै रोईन । बाटोमा गाडी चढ्दा समेत आमाका आखाँबाट आँशु बगिरहेका थिए । सावित्रालाई पनि एक मनले बाटैबाट घर फर्कौ नलागेको होईन । तर अर्को तर्फ सिंगो नेपाली फुटबलले उनलाई पर्खेर बसेको थियो । उनले दोस्रो विकल्प रोज्ने अठोट गरिन् ।
काठमाडौं छिरे लगत्तै रेफ्री शुक्र लामाले उनको भेट एपीएफका प्रशिक्षक नरकुमार राई र रत्न काजी महर्जनसंग गराईदिए ।
उनीहरुले सावित्रालाई एपीएफको टिममा लगेर गए ।
पहिलो दिन एपीएफको ट्रेनिङमा उनी सामेल भईन् । उनलाई अभ्यास निकै फरक लाग्यो ।
गाँउमा छदाँ सुटिङ मात्र हान्ने अभ्यास थियो । अब उनले ‘जिरो लेबल’बाट सिक्न पर्ने भयो । बल रोक्ने, जगिङ गर्ने उनले एपीएफ छिरेरै थाहा पाईन् ।
उनको दौड सानैदेखि राम्रो थियो । प्रशिक्षकले शुन्य लेबलबाटै उनलाई सिकाए ।
पहिलो चरणमा गंगा गुरुङले समेत उनलाई धेरै सहयोग गरिन् ।
एक महिनाको ट्रायल राम्रैसंग बित्यो ।
अनि उनले एपीएफसंग एक बर्षको करार सम्झौता गरिन् । मासिक ५ हजार रुपैयाँ पाउने गरि ।
त्यसपछि नियमित रुपमा एपीएफमा उनको प्रशिक्षण चल्न थाल्यो ।
सावित्राको हेयर स्टाइल छोटो थियो । सावित्रा नामले बोलाउन उनका सिनियर अफठ्यारो मान्थे । अनि उनीहरुले सावित्रा भण्डारीलाई जोडेर नाम राखिदिए, साम्बा ।
यो साम्बाको अर्थ के हुन्छ ?
‘बोलाउन सजिलो होस भनेर राखिएको नाम हो । फुटबलमा छोटो समयमा तुरुन्त निर्णय लिनुपर्छ । व्यक्तिगत कला र स्टाईलले समेत मेरो नाम राखिएको होला ।’ उनी मुस्कुराउछिन् ।
उनले साम्बाको अर्थ खोज्न कहिल्यै जरुरी ठानिनन् । उनलाई सावित्रा र साम्बा एक अर्काका परिपुरक लाग्छन् । उनलाई साम्बा नाम प्रिय लाग्छ । खेलबाटै साम्बा नामलाई चिनाउने उनको लक्ष्य छ ।
२ महिनाको ट्रेनिङ लगत्तै ७१ सालमा चितवनमा महिला लिग हुने भयो ।
विभागमा खेलाडीको अभाव थियो । सावित्रा टिममा परिन् ।
पहिलो प्रतियोगितामा उनले कमजोर टिमविरुद्ध राम्रो प्रर्दशन गरिन् । तर मुख्य खेलमा म्याच अनुभव नभएकाले प्रष्ट देखियो । उनले क्षमता अनुसारको खेल्न सकिनन् ।
लगत्तै रौतहत तुलसीलाल अमात्य कप भयो । राम्रो छाप छोड्न सफल भईन् । लगत्तै दशैमा प्रधानसेनापति कप राष्ट्रिय महिला प्रतियोगिता आयोजना भयो । उनले राम्रै प्रर्दशन गरिन् ।
सोही प्रर्दशनको आधारमा उनी राष्ट्रिय टिममा समेत स्थान बनाईन् । त्यसपछि सन् २०१४ मा पाकिस्तानमा भएको साफ च्याम्पियनसिपमा उनले सहभागिता जनाईन् ।
बैकल्पिक खेलाडीको रुपमा पहिलो खेलको अन्तिम मिनेटमा उनले मौका पाईन् । भुटानविरुद्धको डेब्यु खेलमै उनले डेब्यु गोल गरिन् ।
त्यसपछि सावित्राले कहिल्यै पछाडी फर्केर हेर्न परेन । त्यसपछि महिला फुटबलमा सावित्राको एक छत्र जगजगी कायम छ ।
नेपालमा महिला फुटबलका प्रतियोगिता खासै हुदैन । एन्फाको समेत यसमा खासै ध्यान छैन् ।
साफ खेलेपछि सावित्राले प्रतियोगिता खेल्न अर्को बर्ष प्रधानसेनापति कप नै कुर्न पर्यो ।
एपीएफ रनर अप भएको थियो । उपाधि भिडन्तमा टाईब्रेकरमा आर्मीसंग हारेको थियो ।
त्यसपछि पुन उनले ७३ सालको प्रधानसेनापति कपकै प्रतिक्षा गरिन् ।
त्यस पटक उनले उत्कृष्ट फरवार्डको अवार्ड पाएकी थिईन् ।
सोही बर्ष भएको महिला राष्ट्रिय लिगमा समेत उनी सर्वाधिक गोलकर्ता बनिन् । र, उत्कृष्ट फरवार्डको अवार्ड हात पारिन् ।
अर्को बर्ष ७४ सालमा प्रधानसेनापतिमा उनी सर्वोकृष्ट खेलाडी भएर स्कुटरनै जितिन् । बर्षका अन्तिममा भएको राखेप च्याम्पियनसिपमा उनकै प्रेरणदायी प्रर्दशनमा एपीएफले उपाधि नै जित्यो । उनी उत्कृष्ट फरवार्ड बनिन् ।
उनको अन्तराष्ट्रिय खेल यात्रा अझ सफलताले भरिएको छ ।
उनले राष्ट्रिय टोलीबाट १७ क्याप खेल्दै १७ गोल गरिसकेकी छिन् । नेपाली महिला टिमबाट सर्वाधिक गोल गर्ने अनु लामाको ३५ गोलको कीर्तिमानी तोड्ने उनको सपना छ ।
सन् २०१६ मा भएको साफ च्याम्पियनसिपमा उनको प्रर्दशन उत्कृष्ट देखिन्छ । त्यसमा उनले १२ गोल गरेकी थिईन् ।
भुटानविरुद्ध डबल ह्याट्रिक गरेकी उनले माल्दिभ्सविरुद्ध ५ र भारतलाई एक गोल गरेकी थिईन् ।
सावित्रालाई नेपालको महिला फुटबलको अवस्थाले निराश बनाउछ । बर्षमा एक दुई प्रतियोगिता मात्र हुन्छन् । बर्षभरी कुरेर एक दुई प्रतियोगिता खेल्ने र अनि दुई चार बर्षमा चोट बोकेर पलायन हुने खेलाडीको नियतीबारे उनी जानकार छिन् ।
तर, एन्फामा आएको नेतृत्व परिवर्तनसंगै उनमा आशा पलाएको छ ।
‘अब हामी ओलम्पिक छनोट खेल्दैछौ । अर्को महिनाबाट फ्रेन्डिली म्याचका लागि ट्रेनिङ सुरु हुदैछ । फुटबल खेलेरै केही गर्न सकिन्छ । एन्फाले केही सोच्छ भन्ने लागेको छ ।’ उनी भन्छिन् ।
महिला टिमको मैत्रिपुर्ण म्याच राखेर म्याच एक्सपोजर दिए एसियाली तहमा नेपालले राम्रो गर्न सक्ने सावित्राको विश्वास छ ।
‘पुरुष फुटबल जति महिला फुटबललाई सोच्ने हो भने साफ मात्र होईन एसियन लेबलमा केही गर्न सक्छ भन्ने लाग्छ ।’ उनी भन्छिन् ।
जब उनी फुटबलमा लागिन् । नेपाली फुटबल संक्रमण कालबाट गुज्रियो ।
त्यसको प्रत्यक्ष असर नेपाली फुटबलमा पर्यो । अझ महिला फुटबलमा त्यसको प्रभाव धेरै देखियो ।
नेपालमा महिला फुटबल धेरै हुदैनन् । लिग नहुदाँ पुरुष फुटबल मोफसलका हुने गोल्डकपले बाँच्यो । तर महिला फुटबलर खेल्न नपाएरै दिन काटे ।
अवस्था अहिलेपनि उस्तै छ । बर्षको एक पटक हुने प्रधानसेनापति कप महिला फुटबलको ठुलो प्रतियोगिता हो ।
पाँच टोली भिडाएर हप्ता दिनमा लिग सक्ने एन्फाको महिला लिगसंग गुनासोको के अर्थ छ र ?
तरपनि फुटबलमा लागेर सावित्रालाई कुनै पछुतो छैन् । उनीसंगै खेल्ने सिनियर दिदीहरु फुटबलको विकराल अवस्था देखेर पलायन भईसके ।
तर उनमा अझै महिला फुटबलप्रति ठुलो विश्वास छ ।
उनी फुटबल खेल्न चाहन्छिन् । धेरै भन्दा भन्दा धेरै गोल गर्न चाहन्छिन् । ‘साम्बा’ नामलाई अझ फैलाउन चाहन्छिन् ।
उनको अब एउटै चाहना छ, साफ च्याम्पियनसिप जित्ने ।
त्यही सपना पुरा गर्न उनको मेहनत अहिलेपनि जारी छ ।