बुबा - जगत बहादुर तामाङ
आमा -सिता तामाङ
काठमाडौं ।
सुरुमा हरेक नाम नयाँ हुन्छन् । परिचय विहीन जस्तै । अझ भनौ संघर्षमा रुमलिएका हुन्छन् । समयक्रमसंगै केही नामले सम्भावना देखाउँछन्, आकार लिन्छन् ।
मिक्छेन तामाङ, यस्तै नाम हो ।
वर्ष दिन अघिसम्म उनी नयाँ थिए । गत बर्ष उनले ए डिभिजन लिगमा थ्री स्टारबाट डेब्यु गरे । सम्भावना देखाए । अब उनै मिक्छेन घरेलु फुटबलमा नयाँ आकार लिदैछन् ।
कति आयतन ओगट्छन्, अहिल्यै भन्न गाह्रो छ ।
तर, उनी यसै हराउने छैनन्, यति चाँही भन्न सकिन्छ ।
किनकी यसका केही खास कारण छन् ।
मोफसलमा रुमलिएको एउटा केटो गत वर्ष शीर्ष डिभिजनको लिगमा देखा पर्यो ।
लिगमा थ्री स्टारले नतिजा गतिलो रहेन ।
तर, नयाँ अनुहारले घरेलु फुटबलमा नयाँ सम्भावना देखायो ।
एक वर्षको अन्तरमा उसले राष्ट्रिय टिममा स्थान बनाएको छ । एक वर्षअघिसम्म मोफसलका प्रतियोगितामा रमाईरहेका मिक्छेन अब अन्तराष्ट्रिय फुटबलमा पाईला राख्दैछन् ।
नेपालले यसै साता म्यानमारसँग खेलेको मैत्रीपूर्ण खेलमा उनी पनि हिस्सा बन्ने मौका पाए । उक्त खेलमा ८७ औं मिनेटमा मैदान प्रवेश गर्दै उनले राष्ट्रिय टिममा डेब्यु गरे । मिक्छेन अन्जन बिष्टको स्थानमा मैदान छिरेका थिए ।
‘राष्ट्रिय टिममा पर्न निकै मेहनत गरेको थिए । लगाबका साथ काम गरेको थिए । कडा मेहमत गरेको थिए । त्यसको फल पाएको छु ।’ राष्ट्रिय टिममा पहिलो पटक परेका मिक्छेनले खेलपाटीसंग भने ।
मोफसलबाट उदाएका फुटबलर
उनी मोरङको उर्लाबारीमा जन्मिए । परिवार सानो थियो । उनी परिवारका प्रिय थिए । तर उनको प्रेम फुटबलसंग थियो । उनी सानैबाट फुटबल खेल्थे ।
जिल्लाकै सिनियरले उनलाई फुटबल खेल्न सिकाए । उमेर बढ्दै जाँदा उनले उर्लाबारी क्लबबाट फुटबल खेल्ने मौका पाए । स्थानीय क्लबबाट दुई बर्षसम्म खेलेका उनले चर्च ब्वाईजबाट युनाईटेडबाट खेल्ने मौका पाए ।
चर्च ब्वाईजबाट उनले केही उपाधिसमेत जिते । त्यसपछि उनीसंग जोडिन आईपुग्यो, मोरङ ११ । जुन टिमबाट उनले ललित स्मृति यू–१८ खेल्ने मौका पाए ।
उनले ७२ सालमा सोही प्रतियोगिता खेल्न पहिलो पटक काठमाडौंमा पाईला टेकेका थिए ।
टिम सेमिफाईनल अघि बढ्न सकेन । तर उनले पुल्चोक स्पोटर््स क्लबबाट बी डिभिजन लिग खेल्ने मौका पाए ।
उनले बी डिभिजन लिग समेत खेले । तर क्लबलाई अगाडी बढाउन सकेनन् ।
फुटबल आन्तरिक किचलोमा फस्दै थियो । मैदान बाहिर एक पछि अर्का खराब समाचार आउन थाले । फुटबल गतिविधि अस्त ब्यस्त बन्यो । ७२ सालपछि लिग स्थगित हुँदा उनले समेत मोफसलकै गोल्डकप खेलेर फुटबल करियर अघि बढाए ।
थ्री स्टारले दिलाएको उचाई
दुई वर्ष अघि उनी उदयरपुर गोल्डकप खेल्न मोरङ ११ बाट आएका थिए ।
मोरङले पहिलो खेल राष्ट्रिय लिग च्याम्पियन थ्री स्टारसँग खेल्यो । मोरङ ४–० ले हार्न पुग्यो । तर मिक्छेनले धेरैको मन जिते । ती धेरै अनुहारमा प्रशिक्षक मेघराज केसी पनि एक थिए, जो थ्री स्टारका प्रशिक्षक थिए ।
घरेलु फुटबलका हाई प्रोफाईनलका प्रशिक्षक मेघराजले मिक्छेनलाई थ्रीस्टार आउन प्रस्ताव गरे ।
उनलै सहजै स्विकारे ।
‘हरेक खेलाडीको शीर्ष क्लबबाट फुटबल खेल्ने सपना हुन्छ । मेरो पनि थियो । थ्रीस्टारबाट प्रस्ताव आउनु सानो कुरा हैन । अनि थ्रीस्टारबाट खेल्ने निधो गरे ।’ उनी सुरुवाती दिन सम्झिन्छन् ।
उनी थ्री स्टार आउने बित्तिकै क्लबले नुवाकोट गोल्डकप खेल्यो ।
पहिलो खेलमै थ्री स्टार पुलिससंग हार्न पुग्यो । उनले अन्तिम ५ मिनेट थ्री स्टारको जर्सीमा मैदान उत्रिएका थिए ।
सोही वर्ष लालबन्दी गोल्डकपमा भने उनले सुरुवाती सेटमै मौका पाए । त्यसपछि उनले क्लबमा बेन्चमा बिताउनु परेको छैन । उनी नियमित रुपमा सुरुवाती सेटमै रहेर थ्री स्टारबाट खेल्दै आएका छन् ।
उनी थ्री स्टारका नयाँ अनुहार हुन्, सम्भावना हुन् ।
उनी सम्मिलित थ्री स्टारले मोफसलका ठुला प्रतियोगितामा उपाधि जित्न सफल भएको छ ।
मिक्छेनको प्रर्दशनबाट प्रेरित थ्रीस्टारले गत सिजन खप्तड गोल्डकप र भुटानमा भएको जिग्मी दोर्जे वाङचुक मेमोरियल प्रतियोगितामा उपविजेता बन्न सफल भएको थियो ।
पछिल्लो एक बर्षमा पाएको उपलब्धीको श्रेय मिक्छेन थ्री स्टार क्लबलाई दिन्छन् ।
‘क्लबमा आउने राम्रो निर्णय लिए भन्ने लाग्छ । शीर्ष क्लबबाट खेल्दा राष्ट्रिय टिममा स्थान बनाउन राम्रो भूमिका रह्यो । अब अझै राम्रो गर्नुपर्ने चुनौती छ ।’ उनी भन्छन् ।
राष्ट्रिय टिममा प्रवेश
उमेर समूहको प्रर्दशन राष्ट्रिय टिममा स्थान बनाउने खुटुकिलोको रुपमा लिईन्छ । धेरै खेलाडीले एकेडेमी हुँदै राष्ट्रिय टिमसम्मको यात्रा तय गरेका छन् ।
तर मिक्छेनले उमेर समूहमा खेल्नै पाएनन् ।
उनी पहिलो पटक यू–२१ राष्ट्रिय टिमको प्रारम्भिक प्रशिक्षणमा बोलाईएको थियो । तर आधिकारिक प्रतियोगिता नभएका कारण उनले सोही समय थ्री स्टारबाट भुटानमा भएको जिग्मी दोर्जे कप खेले । उनी आसन्न दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को टिममा छन् ।
तेस्रो प्रयासमा राष्ट्रिय टिममा
सेन्टर मिडफिल्डर मिक्छेन पहिलो पटकमै राष्ट्रिय टिममा परेका भने हैनन् ।
यसअघि उनी दुई पटक बन्द प्रशिक्षणमा रहेर असफल भएका थिए ।
मुख्य प्रशिक्षक योहन कालिनले राष्ट्रिय टिम सम्हालेसंगै पहिलो भ्रमण कुवेतबाट गर्ने भए ।
त्यसअघि उनले राष्ट्रिय टिमको बन्द प्रशिक्षण बोलाएका थिए । तर मिक्छेन अन्तिम टोलीमा परेनन् ।
विमल घर्ति मगर, हेमन गुरुङ, दिनेश राजबंशी जस्ता खेलाडीलाई टिम बाहिर रहँदा मिक्छेनले समेत स्वभाविक रुपमा लिए ।
टोली घोषणा अघि कालिनले प्रत्येक खेलाडीलाई एक्ला एक्लै भेटेर टिम बाहिर राख्नुको कारण बताएका थिए । जसमा मिक्छेनले आफ्नो कमजोरी प्रशिक्षकबाट जान्ने मौका पाए ।
दोस्रो पटक मलेसियाको लिग च्याम्पियन जोहोर दारुर टाजिमविरुद्धको मैत्रिपुर्ण खेल अगाडी समेत मिक्छेन बन्द प्रशिक्षणमा आए । तर पुन उनी अन्तिम टिममा स्थान बनाउन असफल रहे ।
‘ग्राउण्ड स्क्यानिङ’मा अब्बल मिक्छेनबाट कालिन फिटनेश र फिजिकल रुपमा फिट चाहन्थे । तेस्रो पटक उनले कमजोरी सुधार गरे । मिक्छेनको सुधारबाट प्रभावित बनेका कालिनले उनलाई तेस्रो पटक राष्ट्रिय टिममा मौका दिए ।
घरेलु फुटबलमा राम्रो सम्भवना देखाएका मिक्छेन अब राष्ट्रिय टिममा नियमित रहन चाहन्छन् । तर लिएको उचाईमा टिकिरहन सजिलो भने छैन ।
फुटबलमा पाएको उचाईबारे उनी सजक पनि देखिन्छन् । मैदान गर्ने परिश्रम र करियरप्रति राख्ने धैर्यतामै उनको भविष्य निर्भर रहनेछ ।