काठमाडौँ। क्याटलान क्लब बार्सिलोना अहिले आर्थिक संकटसँग जुधिरहेको छ। त्यसैले यो संकट टार्न बार्सिलोनाले यस समरमा आफ्ना केही ठूला स्टार खेलाडीहरूलाई बेच्ने तयारी गरेको छ।
ती ठूला स्टार खेलाडीमध्ये मिडफिल्डर फ्रयांकी डी जोङ पनि एक हुन सक्छन्। डी जोङले बार्सिलोनाका लागि यो सिजन २९ खेल खेलिसकेका छन्।
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) र जर्मन क्लब बायर्न म्युनिख डी जोङका ठूलो प्रशंसक हुन्। यद्यपि, पीएसजीले यस समरमा डचम्यानलाई साइन गर्ने योजना त्यागेको छ। पीएसजी यूईएफ वित्तीय फेयर प्ले नियमको पालना गर्ने तरखरमा छ।
अर्कोतर्फ फ्रेन्च स्ट्राइकर केलियन एम्बाप्पेले पीएसजी छाडे क्लबलाई डी जोङ भित्र्याउने बाटो खुल्छ। तर, पीएसजी भने नापोली स्टार स्ट्राइकर भिक्टर ओसिमहेनलाई एम्बाप्पेको स्थानमा अनुबन्ध गर्ने तयारीमा देखिन्छ। त्यसैले बार्सिलोनाले डी जोङका लागि मागेको कम्तीमा ८० मिलियन युरो दिन पीएसजी असमर्थ हुनेछ।
अब डी जोङको सम्भावित क्लब बायर्न हो। बायर्नले सन् २०१२ पछि पहिलो पटक जाबी अलोन्सोको बायर लेभरकुसेनलाई बुन्डेसलिगा उपाधि सुम्पेको छ। त्यसैले बायर्न टोली पुनर्निर्माण गर्न खोजिरहेको छ।
इङ्लिस प्रिमियर क्लब म्यानचेस्टर युनाइटेड पनि डी जोङलाई भित्र्याउने दौडमा रहेको छ। एरिक टेन ह्यागले डी जोङमाथि लामो समयदेखि रुचि राखेका छन्। यसअघि एक पटक युनाइटेड सम्झौताको लगभग अन्त्यतिर थियो। तर, डी जोङले अन्त्यमा ओल्ड ट्राफोर्ड जान अस्वीकार गरे र स्पेनमै बसे।
'म्यानचेस्टर युनाइटेडले पहिले नै (२०२२ मा) बार्सिलोनासँग कुरा गरेको थियो। तर, म यहाँ बस्न चाहन्छु भनेपछि सम्झौता रद्द भयो,' डी जोङले भने, 'क्लब कठिन परिस्थितिमा थियो। ठूलो शुल्कमा मलाई बार्सिलोनाले बेच्न चाहेको थियो। तर, म बार्सिलोना छोड्न चाहन्थे। त्यसैले म यही बसेँ।'
युनाइटेडले डी जोङलाई अनुबन्ध गर्न ६० मिलियन युरोको प्रस्ताव गरेको थियो। तर, बार्सिलोनाले शुरूआती प्रस्ताव अस्वीकार गरेको थियो। २७ वर्षीय मिडफिल्डर डी जोङ सन् २०१९ मा आयाक्सबाट बार्सिलोना आएका थिए ।
यदि सबै कुरा आफ्नो र क्लबको लागि राम्रो भयो भने सकेसम्म आफू बार्सिलोनामै बस्न चाहेको उनले बताए। 'मैले यहाँ (बार्सिलोनाबाट) लिग जितेको छु, त्यसैले अब यो सिजन जित्न मेरो लागि एउटा मात्र कुरा बाँकी छ र त्यो हो नेसन्स लिग (नेदरल्यान्डसँग)। यो युरो या विश्वकप जस्तो ठूलो प्रतियोगिता होइन। तर, मलाई लाग्छ यो हाम्रो लागि ठूलो प्रतियोगिता हो,' उनले भने।