सिमरा। मच्छिन्द्र फुटबल क्लब १४औँ जितपुरसिमरा गोल्डकपको उपाधिनजिक पुथेको छ।
सिमरा रंगशालामा शुक्रबार राति सम्पन्न पहिलो सेमिफाइनलमा सिराहाको सलहेश युवा क्लबलाई २–० गोल अन्तरले पन्छाउँदै मच्छिन्द्र उपाधिनजिक पुगेको हो।
मच्छिन्द्रले अब उपाधिका लागि शनिबार एपीएफ र नेपाल पुलिसबीच हुने विभागीय डर्बीको विजेतासँग खेल्नेछ।मच्छिन्द्रको जितमा विमल घर्तीमगर र देवेन्द्र तामाङले १/१ गोल गरे।
मच्छिन्द्रले दुवै गोल खेलको पहिलो हाफमै गरेको थियो। ३०औँ मिनटमा विमल घर्तीमगरको गोलमार्फत मच्छिन्द्रले शुरूआती अग्रता बनायो। पेनाल्टी बक्स बाहिरबाट छिरिङ गुरुङले दिएको पासलाई विमलले सिराहाको बक्सभित्र नियन्त्रणमा लिँदै शानदार गोल गरे।
पहिलो हाफको इन्ज्युरी समयमा देवेन्द्र तामाङले गोल गर्दै मच्छिन्द्रको अग्रता दोब्बर पारे। अभिषेक गुरुङको कर्नर बलमा देवेन्द्रले हेडिङमार्फत गोल गरेका थिए।
खेलको म्यान अफ दी म्याच मच्छिन्द्रका विमल घोषित भए। उनले १० हजार प्राप्त गरे।