गोरखा। क्यासिस स्पोर्ट्स एकेडेमी, नव जनजागृति युवा क्लब, थ्रीस्टार क्लब र काँकडभिट्टा फुटबल प्रशिक्षण केन्द्र नवौँ ओसन कप यू–१३ राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन्।
ओसन क्लब गोरखाको आयोजनामा क्लबको उर्फ मैदान दल भन्ज्याङमा भइरहेको प्रतियोगितामा क्यासिसले पुल ‘बी’ मा शतप्रतिशत जित हासिल गर्दै सिधै सेमिफाइनलमा स्थान बनाएको हो।
क्यासिसले बुधबार थ्रीस्टार क्लबलाई ३–१ र नव जनजागृति युवा क्लबलाई ५–३ गोल अन्तरले पराजित गरेको थियो।
बिहीबार विराटनगर सिटी फुटबल क्लबलाई ६-१ गोल अन्तरले पराजित गरेको क्यासिसले शुक्रबार पुलको अन्तिम खेलमा हिली फिल्डर्स गोरखा एफसीलाई २-१ गोल अन्तरले पराजित गर्यो।
क्यासिसको जितमा सन्दीप अधिकारी र प्रतीक कुँवरले १/१ गोल गरे। हिलीका दीपेश परियारको गोल सान्त्वना रह्यो।
क्यासिसले पुल ‘बी’मा अपराजित रहँदै १२ अंक जोड्यो। यस्तै, यही पुलमा रहेको नव जनजागृति पनि सेमिफाइनलमा पुगेको छ। बिहीबार थ्रीस्टार क्लबसँग २-१ गोल अन्तरले पराजित भएपछि आफ्नो पुलमा ४ खेलबाट ६ अंक मात्रै जोड्न सक्यो।
उक्त पुलको उपविजेता बनेको नव जनजागृतिले सेमिफाइनल प्रवेशका लागि पुल ‘ए’ को उपविजेता घोडाघोडी फुटबल एकेडेमीसँग प्लेअफ खेल्नु परेको थियो।
प्लेअफमा नव जनजागृतिले घोडाघोडीलाई २-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गर्यो। नव जनजागृतिका सविन तामाङले २ गोल गरे। घोडाघोडीका दीपेन्द्र बिकेको गोल सान्त्वना रह्यो।
घोडाघोडीले पल ‘ए’ को अन्तिम खेलमा वाल्मीकी शिक्षा सदनलाई २-१ गोल अन्तरले पराजित गर्दै उपविजेताको हैसियतमा प्लेअफमा स्थान बनाएको थियो। घोडाघोडीका आर्यन नाथ र दीपेन्द्र बिके १/१ गोल गरेका थिए। वाल्मीकीका प्रणिश लामाले एक गोल फर्काए। घोडाघोडीले पुल ‘ए’ मा ४ खेलमा ७ अंक जोडेको थियो।
यस्तै, काँकडभिट्टाले पुल ‘ए’ को अन्तिम दुई खेलमा शुक्रबार जित हासिल गर्दै विजेताको रूपमा सिधै सेमिफाइनलमा स्थान बनायो।
शुक्रबार भएको पहिलो खेलमा काँकडभिट्टाले समाज कल्याण खेलकुद केन्द्रलाई ६-० गोल अन्तरले पराजित गर्यो। काँकडभिट्टाका समीर मगरले २ तथा दिनेश गौतम, सुभम राजवंशी, मिसियो हस्दाले १/१ गोल गरे। समाज कल्याणका ग्रेसन श्रेष्ठले आत्मघाती गोल गरे।
काँकडभिट्टाले पुल ‘ए’ मा वाल्मीकीसँग २-२ गोलको बराबरी खेलेको थियो। अन्यमा भने अपराजित रहेको काँकडभिट्टाले १० अंक जोड्यो। सेमिफाइनलमा थ्रीस्टारले काँकडभिट्टा र नव जनजागृतिले क्यासिससँग खेल्ने छ।