काठमाडौं । सावित्रा भण्डारीले वाफ वुमन्स च्याम्पियनसिपको फाइनल खेल गुमाउने भएकी छिन् ।
साउदी अबरमा जारी प्रतियोगितामा नेपाललाई फाइनल पुर्याउन महत्वपुर्ण योगदान गरेकी साम्बाले फाइनल खेल गुमाउने भएकी हुन् ।
केही हप्ता अघि मात्र फ्रान्सेली क्लब ईभी गुईनगाम्पमा आबद्ध भएकी सावित्राले क्लबसँगको सम्झौता अनुसार फाइनल खेल गुमाउने भएकी हुन् ।
फिफा विन्डो भन्दा बाहिर हुन लागेको फाइनल खेलमा साम्बालाई खेल्न दिन क्लबले अस्विकार गरेको हो ।
अखिल नेपाल फुटबल संघ एन्फाले एक सुचना जारी गर्दै सम्झौता अनुसार सावित्राले फाइनल खेल्न नपाउने बताएको हो ।
फिफाले अन्तराष्ट्रिय विन्डोका लागि फेब्रुअरी १९ देखि २८ सम्मको समय दिएको थियो । फाइनल खेल २९ तारिकमा हुन लागेको हो । सोही अनुसार बिहीबार हुने फाइनल खेलमा सावित्रा अनुपस्थित रहने भएकी हुन् ।
सावित्राले समूह चरणका सबै खेल सहित सेमिफाइनलमा नेपालका लागि महत्वपुर्ण गोल गरेकी थिईन् ।
सावित्रा ९ गोल गर्दै प्रतियोगिताको सर्वाधिक गोलकर्ताको दौडमा अघि छिन् । जोर्डनकी मायसा जबराहले ५ गोल गर्दै सावित्रालाई पछ्याईरहेकी छिन् ।
नेपालले मंगलबार लेवनानलाई हराएर प्रतियोगिताको फाइनल प्रवेश गरेको थियो । नेपालले उपाधिका लागि बिहीबार जोर्डनसँग खेल्दैछ ।