काठमाडौं । च्याम्पियन्स लिगको ग्रुप अफ डेथ मानिएको समूह एफको खेलमा एसी मिलानले न्युक्यासलसँग बराबरी खेलेको छ ।
मंगलबार राति घरेलु मैदानमा मिलानले च्याम्पियन्स लिगमा फर्किएको न्युक्यासलसँग गोल रहित बराबरी खेल्दै अंक बाँडेको हो ।
न्युक्यासल झण्डै २० वर्षपछि च्याम्पियन्स लिगमा फर्किएको हो । एडी होवेको टिम गत सिजन प्रिमियर लिगको चौथो स्थानमा रहेर युरोपको सर्वोत्कृष्ट लिगमा छनोट भएको हो ।
न्युक्यासल रहेको समूहमा फ्रेन्च च्याम्पियन पीएसजी र जर्मन जायन्ट बोरुसिया डर्टमण्ड छन् ।
पहिलो हाफमा मिलान हाबी भएको खेलमा ओलिभर जिराउड र थियो हर्नान्डेजको प्रहारलाई न्युक्यासलका गोलकिपर निक पोपले उत्कृष्ट बचाउ गरेका थिए ।
समूह एफको खेलमा मिलान र न्युक्यासलले बराबरी खेल्दै समान एक अंक जोडेका छन् ।