काठमाडौं । अन्तत स्पेनिस फुटबल संघका अध्यक्ष लुइस रुबियल्सले पदबाट राजीनामा दिएका छन् । विश्वकप विजेता खेलाडीसँग चुम्बन काण्डमा तानिएका रुबियल्सले अन्तत पदबाट राजीनामा दिएको बताएका हुन् ।
विश्व विजेता जेमी हर्मोसोलाई चुम्बन गरेको आरोपमा उनीमाथि विभिन्न निकायले अनुसन्धान अघि बढाएका थिए भने देशभित्रै धेरै संस्था तथा फुटबलकर्मीले उनलाई बहिष्कार गरेका थिए । उनीमाथि राजीनामाको चर्को दबाब थियो ।
स्पेनले महिला विश्वकपको उपाधि जित्दा समापन समारोहमा उत्साहीत बनेका रुबियल्सले फरवार्ड हर्मोसोलाई गरेको चुम्बन विवादमा तानिएको थियो । हर्मोसोले गत मंगलबार अध्यक्ष रुबियल्समाथि कानुनी प्रक्रिया समेत अघि बढाएकी छिन् ।

रुबियल्सले महासंघका कार्यवहाक अध्यक्ष पेड्रो रोचा समक्ष आफुले राजीनामा दिएको स्पष्ट पारेका छन् । ‘म मेरो कार्य निरन्तर अघि बढाउन सक्दिन ।’ उनले एक टेलिभिजन अन्तरवर्तामा भनेका छन् ।
४६ वर्षका रुबियल्सले यूईएफको कार्यसमिति उपाध्यक्ष पदबाट समेत राजीनामा दिएको बताएका छन् ।
उनको विवादास्पद चुम्बनले स्पेनको विश्वविजेता उपलब्धि छायाँमा पर्यो । उनले निरन्तर राजीनामा दिने विषयलाई अस्विकार गर्दै आएका थिए ।
रुबियल्सले चुम्बन आपसी सहमतीमा भएको बताएका थिए । तर विश्व फुटबलको सर्वोच्च संस्था फिफाले उनलाई अस्थायी रुपमा निलम्बन गरेको थियो ।
उनले फिफाबाट गरिएको निलम्बन र आफुविरुद्ध सुरु भएको कारबाहीले पुन आफु सोही पदमा फर्कने सम्भावना नरहेको बताएका छन् ।
उनले आफ्नो राजीनामाले सन् २०३० को विश्वकप आयोजनामा स्पेनले मोरक्को र पोर्चुगलसँग मिलेर संयुक्त रुपमा गर्ने दाबीमा बल प्राप्त हुने विश्वास ब्यक्त गरेका छन् । उनले भनेका छन्, ‘मलाई साँचो कुरामा भरोसा छ । र म यसलाई कायम राख्न हरसम्भव प्रयास गर्नेछु ।’