काठमाडौं । ब्राजिलका अन्तराष्ट्रिय स्टार नेयमारले लिजेण्ड पेलेको कीर्तिमानलाई तोडेका छन् । नेयमारले फुटबल लिजेण्ड पेलेले राष्ट्रिय पुरुष टिमबाट बनाएको सर्वाधिक गोलको कीर्तिमानलाई तोडेका हुन् ।
ब्राजिलले विश्वकपको छनोट खेलमा बोलिभियालाई ५–१ ले हराएको थियो । सो खेलमा नेयमारले दुई गोल गर्दै पेलेको कीर्तिमानी ७७ गोललाई तोडेका हुन् । सुरुआतमा पेनाल्टी मिस गरेका उनले आफ्नो १ सय २५ औं क्यापमा दुई गोल थपे ।
महिला खेलाडी माटाले ब्राजिली महिला टिमबाट १ सय ८९ खेलमा देशका लागि सर्वाधिक १ सय २२ गोल गरेकी छिन् ।
गत डिसेम्बरमा बितेका पेलेले ९२ खेलमा ७७ गोलको कीर्तिमान बनाएका थिए । उनले १९५७ देखि १९७१ सम्म मात्र राष्ट्रिय टिमबाट खेलेका थिए । उनलाई फुटबल इतिहासको सर्वकालिन महान खेलाडी मानिन्छ ।
नेयमार हाल साउदी क्लब अल हिलालमा छन् । उनी सन् २०१७ मा कीर्तिमानी २ सय मिलियन पाउण्डमा बार्सिलोनाबाट पेरिस सेन्ट जर्मेन (पीएसजी) लागेका थिए ।
‘मैले यो कीर्तिमान सम्म पुग्छु भन्ने सोचेको थिएन । म पेले भन्दा वा राष्ट्रिय टिमका अन्य सदस्य भन्दा उत्कृष्ट खेलाडी हैन ।’ नेयमारले कीर्तिमान भंग गरेपछि भनेका छन् ।