काठमाडौं । फिफा यू-२० विश्वकप फुटबल इन्डोनेसियामा आयोजना नहुने भएको छ ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले इन्डोनेसियाको यू-२० विश्वकप आयोजना गर्ने अधिकार खोसेको छ ।
यू-२० विश्वकप आगामी मे २० देखि जुन ११ सम्म हुने तय थियो ।
तर, गत शुक्रबार बालीमा तय प्रतियोगिताको आधिकारिक 'ड्र' रद्द भएपछि फिफाले इन्डोनेसियाको अधिकार खोसेको हो ।
इन्डोनेसियाको फुटबल संघले बालीका गभर्नर वायन कोस्टरले इजरायल सहभागी प्रतियोगिता आयोजना गर्न अस्वीकार गरेपछि 'ड्र' रद्द गर्न बाध्य भएको बताएको छ ।
इन्डोनेसियाको इजरायलसँग कुनै औपचारिक कूटनीतिक सम्बन्ध छैन र हालै प्रदर्शनकारीहरूले प्यालेस्टाइनको समर्थनमा इजरायललाई प्रतियोगितामा प्रतिस्पर्धा गर्नबाट रोक्न माग गर्दै जुलुस निकालेका थिए ।
इजरायल प्रतियोगिताको लागि छनोट हुनु अघि इन्डोनेसियाले २०१९ मा यू-२० विश्वकप आयोजना गर्ने अधिकार पाएको थियो।
'फिफाले हालको परिस्थितिका कारण इन्डोनेसियालाई फिफा यू-२० विश्वकप २०२३ को आयोजकबाट हटाउने निर्णय गरेको छ,' फिफाको विज्ञप्तिमा भनिएको छ ।
फिफाले चाडै नयाँ आयोजक राष्ट्र छनोट गरिने समेत जनाएको छ ।