काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपालले लाओसलाई पराजित गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा लाओसलाई २-० गोल अन्तरले हराउँदै नेपालले सुखद सुरुआत गरेको हो ।
नेपालको जितमा अनन्त तामाङ र नवयुग श्रेष्ठले एक एक गोल गरे ।
नेपालको जितमा पहिलो गोलकर्ता अनन्त भने जितमा समेत खुशी देखिएनन् ।
अनन्तले लाओसविरुद्ध सन्तोष जनक खेल प्रदर्शन गर्न नसकिएको बताए ।
'सन्तोष जनक खेल भएन । कारण नयाँ खेलाडी र छोटो तयारीले गर्दा हो । हामीले बल पोसेसनमा राख्न सकेनौं । तर, व्यक्तिगत रुपमा सबैले राम्रो गरेको छ,' खेलपछि उनले भने ।
अनन्त खेलको प्लेयर अफ द म्याच समेत चुनिए । उनले अभ्यास अनुसार नै आफुले गोल गरेको बताए ।
'हामीले अभ्यासमा ट्राइ गरेका थियौं । हामीले त्यहिँ अनुसार गोल गर्यौं । गोलमा खुशी लागेको छ,' उनले भने ।
अनन्तले भुटानविरुद्ध जित निकाल्न टोलीले थप मेहेनत गर्नुपर्ने बताए । टिमका नियमित खेलाडी विदेशिएको कारण टिमको तालमेल नमिलेको उनले बताए ।
नयाँ खेलाडीले अहिले अवसर पाएको कारण पछि टिम राम्रो बन्ने बताए ।