इटहरी । विभागीय टोली त्रिभुवन आर्मी क्लब १३ औं इटहरी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
अन्तिम क्वाटरफाइनल खेलमा आर्मीले मंगलबार रोलिङ क्लब धुलाबारी झापालाई ४-१ गोल अन्तरले हराएको हो । आर्मीको जितसंगै सेमिफाइनल समीकरण पूरा भएको छ ।
आर्मीको जितमा दिपक गुरुङ, जिलेस्पीजंग कार्की, सुदिल राई र पदम तामाङले १÷१ गोल गरे । रोलिङका डेडी वाम्बाले सान्तवाना गोल फर्काए ।
खेलको सुरुवातबाटै दबाब बनाएको आर्मीले तेश्रो मिनेटमा अग्रता बनायो । डिबक्स नजिकबाट उनले गरेको प्रहार सिधै जाली चुमेको थियो । पहिलो हाफको इन्जुरी समयमा कप्तान कार्कीले अग्रता दोब्बर बनाए । युद्ध शाहीको पासलाई कार्कीले सदुपयोग गर्दै अग्रता दोब्बर बनाएका हुन् । पहिलो हाफमा २ गोलको अग्रता बनाएको आर्मीले दोश्रो हाफमा थप २ गोल गर्न सफल रहयो ।
६२ औं मिनेटमा सुदिल राईले अग्रता ३-० बनाए । दिनेश हेन्जनको पासलाई राईले जाली चुमाए । ६४ औ मिनेटमा रोलिङका अफ्रिकी खेलाडी वाम्बाले पेनाल्टी मार्फत अग्रता ३-१ मा झार्न सफल भए । डिबक्सभित्र बिमल पाण्डेले ह्रयान्ड गरेपछि पाएको अवसरलाई वाम्बाले खेर फालेनन् । इन्जुरी समयमा तामाङले गोल गरेपछि आर्मी ४-१ गोल अन्तरको स्पष्ट जित सहित अन्तिम चारमा प्रवेश गरेको हो ।
रोलिङ गत संस्करणमा समेत आर्मीसंग पराजित भएको थियो । १२ औं संस्करणमा सेमीफाइनलमा भिडेका २ टोली यस पटक क्वाटरफाइनलमा आमने सामने भएका थिए । खेलको म्यान अफ दि म्याच आर्मीका कप्तान जिलेस्पीजंग कार्की घोषित हुँदै नगद १० हजार प्राप्त गरे ।
आर्मीले आगामी चैत्र ९ गते फाइनल प्रवेशका लागि चिरप्रतिद्धन्द्धी चर्च व्वाइज युनाइटेडसंग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिताको पहिलो सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन सगरमाथा युथ क्लबले लिग बिजेता मछिन्द्र क्लबसंग प्रतिस्पर्धा गर्नेछ । सगरमाथाले क्यामरुनी टोली एभेनियरलाई हराउँदै सेमीफाइनल स्थान बनाएको थियो । मछिन्द्रले आयोजक टोली राष्ट्रिय जागृति क्लबलाई हराउँदै सेमीफाइनल प्रवेश गरेको हो ।
खेलमा दुवै टोलीले केही राम्रा मुभहरुलाई सदुपयोग गर्न सकेनन् । २० औ मिनेटमा आर्मीका सन्तोष केसीको पासलाई दिनेश हेन्जनले सदुपयोग गर्न सकेनन् । ५७ औ मिनेटमा आर्मीका कप्तान जिलेस्पीजंग कार्कीको प्रहार रोलिङका गोलरक्षक मनोज प्रधानले क्लियर गरिदिए । ७३ औ मिनेटमा वान भर्सेस वानको अवस्थामा जिलेस्पीको प्रहार गोलरक्षक प्रधान अघि बढेर बचाए । खेलको २३ औ मिनेटमा रोलिङका विदेशी खेलाडी स्टिभ गोल गर्न चुके । ६८ औ मिनेटमा अनुज क्षेत्री वान भर्सेस वानको अवस्थामा गोल गर्न चुके । उनको प्रहार आर्मीका गोलरक्षक विकेश कुथुबाट डिफ्लेक्ट हुँदै बाहिरियो ।
जितपछि आर्मीका प्रशिक्षक नविन न्यौपानले लिगमा लगातार खेलका कारण अपेक्षा अनुरुप प्रर्दशन नभएको बताए । उनले खेलाडीहरुको थकानका कारण २५ प्रतिशत मात्र खेल देखाउन सकेको बताए । न्यौपानेले आजको खेलमा सुरुवातमा स्कोर निस्किएपछि पनि पाएको धेरै अवसरहरु सदुपयोग हुन नसकेको बताए । खेलाडीहरुको थकानका कारण आश गरिएका खेलाडीहरुबाट अपेक्षिकृत प्रर्दशन नभएको बताए । पहिलो रोजाईका केही खेलाडीहरु राष्ट्रिय क्याम्पमा भएपनि जुनियर खेलाडीहरुबाट स्कोर निस्किरहेको बताए ।
रोलिङका प्रशिक्षक मुकुम लिम्बुले डिफेन्समा बिल्डअप नहुँदा पराजय भोगेको बताए । उनले गोलरक्षको गल्ती कारण गोलका अवसरहरु धेरै निस्एिको बताए । लिम्बुले ए डिभिजन लिगका कारण राम्रा खेलाडीहरु नपाएको कारण प्रतिस्पर्धात्मक टोली तयार गर्न नसकिएको बताए । अफ्रिकी खेलाडीहरु भएपनि अपेक्षा अनुरुप प्रर्दशन गर्न चुके । मोफसलका टोलीहरुले बर्षभरी खेलाडी पाल्न सक्ने क्षमता नभएको कारण विभागीय टोली विरुद्ध निरिह हुनुपरेको बताए ।