एजेन्सी । इटालियन क्लब नापोलीले नाइजेरियन फरवार्ड भिक्टर ओसिमहेनलाई अनुबन्ध गरेको छ ।
नापोलीले युवा फरवार्ड भिक्टरलाई फ्रेन्च क्लब लिलीबाट क्लबमा भित्र्याएको हो ।
'भिक्टरलाई अनुबन्धको घोषणा गर्न पाउँदा क्लब निकै खुशी रहेको छ,' क्लबको वेबसाइटले भनेको छ ।
नापोलीले भिक्टर अनुबन्धको रकम खुलाएको छैन । तर, फ्रेन्च मिडियाले ९६ मिलियन अमेरिकी डलरमा उनी नापोली गएको जनाएको छ ।
यस्तै फ्रेन्च मिडियाले उनी सर्वाधिक महंगा अफ्रिकन खेलाडी भएको समेत जनाएको छ । अफ्रिकन खेलाडीका लागि नापोलीले खर्चिएको यो रकम सर्वाधिक ठुलो हो ।
२१ वर्षीय फरवार्डले यस सिजन फ्रेन्च क्लबका लागि ३८ खेलमा १८ गोल गरेका थिए ।
उनले नाइजेरियाका लागि १० खेल खेलिसकेका छन् ।