एजेन्सी । इंगलिस क्लब लिभरपुलका मुख्य प्रशिक्षक योर्गेन क्लोपले आफ्ना समर्थकलाई उपयुक्त समय नआएसम्म उपाधिको उत्सव नमनाउन आग्रह गरेका छन् ।
क्लोपले एक पत्रिकाबाट समर्थकलाई खुल्ला पत्र लेख्दै उपाधिको खुसियाली मनाउन उपयुक्त समय पर्खन आग्रह गरेका हुन् ।
'हामी सबैले कोभिड-१९ विरुद्ध लड्न यति धेरै गरेका छौं र यो प्रयास खेर जाँदैन,' लिभरपुल इचोमा छापिएको पत्रमा भनिएको छ, 'जब उचित समय हुन्छ हामी उत्सव मनाउँदछौं । तर अहिलेका लागि, कृपया घरमै बस्नुहोस्।'
लिभरपुलले बिहिबार प्रिमियर लिग उपाधि जितेको थियो । लिभरपुलले ३० वर्ष पछि पहिलो पटक प्रिमियर लिगको उपाधि जितेको हो ।
तर, कोरोना भाइरसको महामारीको कारण लिभरपुलले उपाधि उत्सव मनाउन पाउने छैनन् ।
इंग्ल्यान्ड सरकारले ठुलो संख्यामा मानिस भेला हुन प्रतिबन्ध लगाएको छ । जसको कारण लिभरपुलले उपाधिको प्रदर्शनी गर्न पाउने छैनन् ।
लिग अन्तर्गत बिहीबार राति दोस्रो स्थानको म्यानचेस्टर सिटी चेल्सीसँग २-१ ले पराजित भएपछि लिभरपुल च्याम्पियन बनेको थियो ।
लिभरपुल च्याम्पियन बनेपछि हजारौ समर्थक खुसियाली बनाउन एनफिल्ड पुगेका थिए ।
क्लबले उपाधि जितेको आधा घण्टा भित्र २ हजार बढी समर्थक एनफिल्डको खेलाडी प्रवेशद्वार अगाडी जम्मा भएका थिए ।
तर, क्लोपले पत्र लेख्दै अहिले घरमै बसेर उत्सव मनाउन समर्थकलाई आग्रह गरेका छन् ।
'म मानिस हुँ । तपाईको प्यासन मेरो पनि हो । अहिले सबैभन्दा महत्वपूर्ण कुरा यस किसिमको सार्वजनिक जमघट छैन्,' क्लोपले लेखेका छन्, 'हाम्रो समुदायलाई जोखिमबाट रोक्न स्वास्थ्यकर्मीले धेरै गरेका छन् । प्रहरी र स्थानीय अधिकारीले हामीलाई सहयोग गरेका छन् । कृपया उत्सव मनाउनुहोस् । घरमै मनाउनुहोस् । जसले हाम्रो समुदायमा भयानक रोगलाई फैलन रोक्छ ।'
यस्तै क्लोपले समर्थकलाई सहयोग र मायाको लागि धन्यवाद दिएका छन् ।