काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टिमका चार खेलाडीलाई कारबाही गरेको छ ।
विश्वकप छनोट अन्तर्गत कुवेतसँग खेल्ने टिममा रहेका फरवार्ड विमल घर्तिमगर, मिडफिल्डर अन्जन विष्ट, सन्तोष तामाङ र डिफेन्डर दिनेश राजवंशीलाई एन्फाले कारबाही गरेको हो ।
एन्फाले कारबाही स्वरूप चारै खेलाडीलाई टिमबाट बर्खास्त गरेको छ । तर, एन्फाले खेलाडी कारबाहीको बिषय भने खुलाएको छैन ।
एन्फाले आन्तरिक छलफल गरेर उनीहरुको स्थानमा चार खेलाडी भुटान पठाउने तयारी गरेको छ ।
राष्ट्रिय टिमका चार खेलाडी शुक्रबार राति ठमेलस्थित एक लाउन्च बारमा गएको भेटिएपछि एन्फाले उनीहरुलाई कारबाही गरेको हो ।
कारबाहीमा परेका विमल सहित चार खेलाडीले कुवेतविरुद्धको खेल खेल्ने छैनन् । चारै खेलाडीलाई भुटान जाने टिमबाट निकालिएको छ ।
'तत्काल चार खेलाडीलाई भुटान जाने टिमबाट निकालिएको छ ।' स्रोतले खेलपाटीसंग भन्यो ।
लाउन्च बारबाट फर्कने क्रममा मोटरसाईकल दुर्घटना हुदाँ खेलाडीलाई सामान्य चोट समेत लागेको छ ।
यसअघि समेत विमल सहित राष्ट्रिय टिमको खेलाडी बन्द प्रशिक्षणमा रहेको समय रातको समयमा डिस्कोमा गएर अनुशासनहिन कार्य गरेको भेटिएको थियो ।
तर, एन्फाले सो समय खेलाडीलाई जोगाउँदै विदेश खेल्न पठाएको थियो ।
एन्फाले यसपटक चार जना खेलाडीलाई कारबाही गर्दै भुटान जाने टिमबाट हटाएको हो ।
नेपालले विश्वकप छनोटको पहिलो होम गेममा मंसिर ३ गते कुवेतविरुद्ध भुटानमा खेल्दैछ । काठमाडौंका दशरथ रंगशाला तयार नभएपछि नेपालले भुटानमा होम गेम खेल्न लागेको हो ।
कुवेतको टिम शुक्रबारनै भुटान पुगिसकेको छ । नेपाली टिम शनिबार भुटानको तयारी गरेको छ ।
विमल पछिल्लो समय माल्दिभ्सको लिग खेल्दै आएका छन् । उनी केही केही दिन अघिमात्र विश्वकप छनोटका खेल खेल्न नेपाल आएका थिए ।
यो पनि पढ्नुहोस् -
होस्टेल छाडेर खेलाडी डिस्कोमा, स्पष्टीकरण सोध्ने एन्फाको तयारी