काठमाडौं । कतारमा आयोजना हुने सन् २०२२ को फिफा विश्वकपका लागि एसियाको दोस्रो चरणको छनोटको पहिलो खेलमा नेपालले कुवेतसँग उसैको मैदानमा खेल्ने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार नेपालमा तय भएको नेपालको 'होम गेम' कुवेतमा हुने जनाएको छ । नेपालले ५ सेप्टेम्बरमा कुवेतसँग 'होम गेम' खेल्नेछ ।
यस्तै एन्फाले कुवेतले उसको 'होम गेम' भने नेपालमा आएर खेल्ने जनाएको छ । नेपाल र कुवेतबीचको दोस्रो खेल नोभेम्बर १९ मा दशरथ रंगशालामा हुनेछ ।
एन्फाले नेपालको एक मात्र अन्तराष्ट्रिय रंगशाला दशरथ रंगशालाको पुननिर्माण त्यस समयमा नसकिने हुँदा कुवेत फुटबल फेडेरसनसँग खेल सट्टा पट्टा गरेर खेल्न आग्रह गरेको थियो । जसम कुवेत सहमत भएको एन्फाले जनाएको छ ।
यसअघि विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले नेपालको ‘होम एण्ड अवे’ दुवै खेल कुवेतमै नगर्न र न्युट्रल भेन्यु खोज्न आग्रह गर्दै एन्फालाई पत्र पठाएको थियो ।
योसँगै छनोटको चार वटै खेल नेपालले घरेलु मैदान दशरथ रंगशालामा खेल्ने भएको छ । यसअघि कुवेतसँगको दुवै खेल कुवेतको मैदानमा खेल्ने तालिका बनेपछि नेपालले ३ खेल मात्र घरेलु मैदानमा खेल्ने तय भएको थियो ।
छनोटमा नेपाल समूह 'बी' मा रहेको छ । नेपालको समूहमा एसियाली पावर हाउस अष्ट्रेलिया, जोर्डन, कुवेत र चाईनिज ताइपे रहेका छन् ।
यस्तै नेपालले सेप्टेम्बर १० मा चाईनिज ताईपे र अक्टोबर १५ मा जोर्डनसँग उसैको मैदानमा खेल्नेछ । नेपालले चाईनिज ताईपेसँग सन् २०२० को मार्च २६ र जोर्डनसँग सन् २०२० को जुन ४ मा नेपालमा खेल्नेछ ।
त्यसबाहेक नेपालले अष्ट्रेलियासँग अक्टोबर १० अवे खेल उसैको मैदानमा खेल्नेछ । यस्तै नेपालले अष्ट्रेलियासँग २०२० को मार्च ३१ मा घरेलु मैदानमा खेल्नेछ ।