‘बलिया टोलीलाई नेपाल बोलाउन रंगशाला अनिवार्य’

काठमाडौँ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) अध्यक्ष ग्रेग बार्कले नेपालले क्रिकेट पूर्वाधार विकासमा अझै जोड दिनुपर्ने बताएका छन्।
तीन दिने भ्रमणका क्रममा नेपालमा रहेका उनले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मूलपानी मैदानको अवलोकन गरेपछि उक्त कुरा बताएका हुन्।
नेपालले बलिया टोलीलाई बोलाउन पर्याप्त पूर्वाधारसहितको रंगशाला अनिवार्य भएको उनले बताए। तर, उक्त पूर्वाधार नेपालसँग नरहेको उनले बताए।
‘नेपालमा धेरै समर्थक छन्। तर, पूर्वाधारमा धेरै विकास गर्नुपर्ने आवश्यकता छ। रंगशालामा फ्लडलाइट, ब्रोडकास्टिङलगायतको सुविधा चाहिन्छ। यस्ता पूर्वाधारको विकास गरेमा आईसीसीका द्विपक्षीय सिरिजहरू आयोजना गर्न सक्छौँ,’ उनले भने।
भारत र पाकिस्तानबीचको राजनीतिक सम्बन्धका कारण एक अर्काको देशमा गएर क्रिकेट खेल्ने गरेका छैनन्। हावापानी मिल्दो र नजिक भएको कारण यी दुई देशलाई बोलाएर क्रिकेट खेलाउन सकिने चर्चा प्राय: सधैँ हुँदै आइरहेको छ। तर, बार्कले न्युट्रल भेन्यूका लागि नेपाल त्यति सहज नरहेको बताए।
‘न्युट्रल भेन्यूको लागि एउटा मात्रै रंगशाला भएर हुँदैन। वैकल्पिक मैदानहरू पनि हुनुपर्छ। त्यस्तो भएमा नेपाल अन्तर्राष्ट्रिय खेलका लागि न्युट्रल भेन्युको रूपमा प्रयोग हुन सक्छ,’ उनले भने।









-1765820073676.webp&w=3840&q=75)
-1765813062633.webp&w=3840&q=75)

