काठमाडौं । अष्ट्रेलियाका ब्याट्सम्यान डेभिड वार्नर लामो समयपछि बिग ब्यास लिग (बीबीएल) खेल्ने भएका छन् ।
वार्नरले बीबीएलका लागि सिड्नी थन्डरसँग दुई वर्षको सम्झौता गरेका छन् । आगामी सिजन उनी टोलीको हिस्सा हुनेछन् ।
यससँगै वार्नर बीबीएलको सट्टा युएईको इन्टरनेशनल लिग टी-ट्वान्टीमा सहभागी हुने अनुमान पनि अन्त्य भएको छ ।
यसअघि वार्नरले नयाँ युएई लिगमा दुबई क्यापिटल्सबाट खेल्ने अनुमान गरिएको थियो । तर, सिड्नी थन्डरसँग सम्झौता गरेर उनले यी सबै हल्लाको अन्त्य गरेका छन् ।

क्रिकेट डटकम एयुको रिपोर्ट अनुसार वार्नरले यसको श्रेय आफ्नी छोरीलाई दिएका छन् । उनकी छोरीले उनलाई बीबीएलमा खेलेको हेर्न चाहेको बताएका छन् ।
'मेरा छोरीहरूले मलाई घरमा बीबीएल खेलेको हेर्न चाहन्छन् । परिवारको रूपमा बीबीएलको हिस्सा बन्न पाउनु राम्रो हुनेछ । म यसबारे धेरै उत्साहित छु,' उनले भनेका छन् ।
वार्नरले पछिल्लो पटक २०१३ मा बीबीएलमा खेलेका थिए । त्यसयता उनले यस प्रतियोगितामा खेलेका छैनन् । तर, अब उनी फेरि बीबीएल खेल्दै गरेको देखिनेछन् ।
बीबीएल डिसेम्बर १३ देखि फेब्रुअरी ४ सम्म हुनेछ ।