काठमाडौं । नेपाली राष्ट्रिय टोलीका कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेले डेजर्ट भाइपर्सबाट युएईको फ्रेन्चाईज क्रिकेट यूएई इन्टरनेसनल टी-ट्वान्टी लिग खेल्दै छन् ।
भाइपर्सले शुक्रबार सन्दीपलाई प्रतियोगिताका लागि अनुबन्ध गरिएको जनाएको छ । उनी लिगको मार्की खेलाडीको रुपमा रहेका थिए ।
सन्दीप एसोसिएट कोटाबाट अनुबन्धित भएपनि उनले पाउने रकम भने खुलाईएको छैन । प्रत्येक टोलीमा दुई एसोसिएट क्रिकेटर आबद्ध हुनुपर्ने नियम रहेको छ ।
भाइपर्समा सन्दीपको अलावा नामिबियाका फास्ट बलर रुबेन ट्रम्पलम्यान रहेका छन् ।
श्रीलंकाका लेगस्पिनर वानिन्दु हसरंगा, इंग्ल्यान्डका विकेटकिपर ब्याटर साम विलिङ्स, इंग्ल्यान्डका ओपनर एलेक्स हेल्स, वेस्ट इन्डिजका सेल्डन कोट्रेल र न्युजिल्याण्डका बिस्फोटक ब्याटर कोलिन मुन्रो यस टिममा रहेका छन् ।
यस टिममा इंग्ल्यान्डका अलराउन्डर टम करन, इंग्ल्यान्डका सकिब मोहम्मद, वेस्ट इन्डिजका अलराउन्डर शिफन रादरफोर्ड र पाकिस्तानका अजाम खान रहेका छन् ।
ईमिरेट्स क्रिकेट बोर्डले आयोजना गर्ने प्रतियोगिता आगामी जनवरी ६ देखि फेब्रुअरी १२ सम्म आयोजना हुनेछ ।
प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा कुल ३४ खेल हुनेछ । प्रतियोगितामा सहभागी टोलीले १८ खेलाडी टिममा राख्न पाउने छन् । जसमा १२ विदेशी खेलाडी राख्न पाईनेछ ।
यस्तै हरेक टोलीले तीन जना यूएईका खेलाडी, दुई एसोसिएट राष्ट्रका र एक यूएई यू-२३ टिमका खेलाडी अनिवार्य गरिएको छ ।
प्लेईङ-११ मा भने कम्तिमा एक जना युएई र एसोसियट राष्ट्रका खेलाडी हुनु पर्नेछ ।
