काठमाडौं । नेपाल क्रिकेट संघ(क्यान) पुरुष क्रिकेटको मात्र संघ हो की जस्तो देखिएको छ। क्यानको गतिविधिबाट लाग्छ उसले भुलिसक्यो नेपालमा महिला क्रिकेट टिम पनि छ।
कुनै समय पुरुषले भन्दा पहिले महिला टिमले विश्वकप खेल्ने आँकलन गरिन्थ्यो । कुनै समयमा एसोसिएट राष्ट्रको शक्ति राष्ट्रको रुपमा नेपाली महिला क्रिकेटलाई लिईन्थ्यो ।
नेपालमा महिला क्रिकेटको सुरुवात हुँदा महिलाले पनि क्रिकेट खेल्छन् र भन्ने राष्ट्रहरुको महिला टोली अहिले नेपालले महिला क्रिकेट खेल्छ र ? भन्ने प्रश्न गर्ने अवस्थामा महिला क्रिकेट पुगेको छ।
सिनियर टिम र उमेर समूहको पछिल्लो प्रतियोगितामा गरेको प्रदर्शनबाट थाहा हुन्छ की नेपाली महिला क्रिकेट कुन अवस्थामा छ । महिला क्रिकेट यो अवस्थामा आउनुको कारण के हो त ? सम्बन्धित निकायले उपेक्षा गर्दाको परिणाम हैन र ?
टेस्ट राष्ट्र मात्र हैन एसोसियट राष्ट्रले पनि पुरुष टोलीको समानान्तर रुपमा महिला टोलीलाई अघि बढाउने गर्छ । नेपालको सन्दर्भमा त्यस्तो छैन । के यो महिला क्रिकेटलाई उपेक्षा गरिएको हैन त ?
तर, महिला क्रिकेटलाई क्यानले प्राथमिकतामा नराखेको कुरा सत्य नरहेको क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ल बताउँछन् ।
'अहिले हाम्रोमा अफसिजन चलिरहेकोले महिला क्रिकेटको खास उपस्थिति नदेखिएको हो । क्यानले महिला टोलीलाई पनि पुरुष टोली सरह नै व्यवहार गरिरहेको छ,' मल्लले खेलपाटीसँग भने 'आईसीसी तथा एसीसीका नै प्रतियोगिता कम रहेकोले पुरुष टोलीलाई जस्तो महिला टिमलाई व्यस्त राख्न सकिएको छैन ।'
पुरुषको नेपाल टी-ट्वान्टी लिगको पहिलो संस्करण सफलतापूर्वक संचालन गरेसँगै क्यान महिलाको पनि टी-ट्वान्टी लिग गराउने तयारीमा रहेको मल्लले बताए ।
नेपाली महिला राष्ट्रिय टोलीकी कप्तान रुबिना क्षेत्री पनि क्यानले महिला क्रिकेटलाई प्राथमिकतामा नै राखेको दाबी गर्छिन् ।
'क्यानले हामीलाई जति प्राथमिकता दिनु पर्ने जति दिएको छ । पुरुष क्रिकेटमा जति आईसीसीको लगानी छ त्यसै अनुरुप उनीहरुको गतिविधी बढी देखिएको हो,' रुबिनाले खेलपाटीसँग भनिन् 'तर, आईसीसीले कम प्राथमिकता दिएको र क्यान आर्थिक रुपमा सबल नरहेकाले नेपाली महिला क्रिकेटमा भएको गतिविधीलाई पर्याप्त मान्न सकिन्छ ।'
नेपाली महिला क्रिकेटका विकासका लागि क्यानले पर्याप्त कामहरु गरिरहेको कप्तान रुबिनाको भनाई छ।
'घरेलु प्रतियोगितामा पनि क्यानले महिला तथा पुरुष टोलीमा भिन्नता गरेको छैन । बरु हाम्रो कमजोर खेलका कारण नै विभिन्न ठुला प्रतियोगिताहरु गुमाएका छौँ,' रुबिनाले थपिन्, 'केही महिना अघि घरेलु मैदानमा नै अन्तराष्ट्रिय सिरिज गरायो । हामी मलेसियामा टी-ट्वान्टी च्याम्पियनसिप छनोट खेल्न जानु अघि लामो समय बन्द सत्रमा राख्यो ।'
क्यानले पटक पटक छलफल गरेर महिला क्रिकेटमा भएका कमजोरी सुधार गर्ने प्रतिबद्धता जनाएको समेत कप्तान रुबिनाले दाबी गरिन् ।