काठमाडौं । पाहुना टोली अफगानिस्तानले चौथो टी-ट्वान्टीमा घरेलु टोली आयरल्याण्डलाई पराजित गरेको छ ।
बेलफास्टमा सोमबार राति भएको खेलमा पाहुना टोली २७ रनले विजयी भएको हो । जितसँगै ५ खेलको टी-ट्वान्टी सिरिज पाहुना टोलीले २-२ को बराबरीमा पुर्याएको छ ।
निरन्तरको वर्षाका कारण खेल ११ ओभरमा छोट्टाईएको थियो । अफगानिस्तानले दिएको दिएको १ सय ३३ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले ११ ओभरमा अलआउट हुदै १ सय ५ रन मात्र बनाउन सक्यो ।
उसका लागि जर्जी ड्याकरोलले अविजित रहदै ४१ तथा पउल स्ट्रलिङले २० रन बनाए । कप्तान एन्डि बालबर्नीले १५ तथा ह्यारी टेक्टरले १३ रन बनाए ।
पाहुना टोलीका लागि फरिद अहमदले ३ तथा नविन उल हक र रशिद खानले समान २/२ विकेट लिए । अजमतुल्लाह उमरजाईले १ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको भ्रमणकारी टोलीले ११ ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रन बनाएको थियो । उसका लागि नजिबुल्लाह जाड्रनले ५० रनको अर्धशतकीय ईनिङ खेले । राशिद खानले अविजित ३१ तथा रमिउल्लाह गुर्बाजले २४ रन बनाए ।
आयरल्याण्डका लागि गारिथ डिलेनीले ३ तथा मार्क अडिर,बारी म्याककार्थी र फियो ह्यान्डले समान १/१ विकेट लिए ।
दुई टोलीबीचको पाँचौ तथा निर्णायक टी-ट्वान्टी बुधबार हुनेछ ।